काठमाडौं, २६ जेठ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कोर्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभए अनुसार बैठकमा कोरोना भाइरसको महामारीको रोकथाम,नियन्त्रण र उपचारमा भएका सरकारी प्रयास र कमजोरीमाथि समीक्षा हुने छ ।
यसले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावका बारेमा पनि समीक्षा हुने बताइएको छ ।
उक्त बैठकमा सहभागी हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनुरोध गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा १३ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने झण्डै ३५ सय संक्रमणमा परेका छन् ।
कोरोना परीक्षण सहज र ब्यापक हुन नसकेकोले संक्रमण र मृत्युको बास्तविक संख्या सरकारी अभिलेखमा आउन नसकेको बताइएको छ ।
सरकारले असार १ गते लकडाउन खुकुलो गर्दै भदौ तेस्रो साता पूर्णत हटाउने योजना सार्वजनिक गरिसकेको छ ।


















