काठमाडौं, २७ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको संख्या ४ हजार नाघेको छ । विगत २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४ हजार ८५ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत ६८ वर्षीय पुरूषको मंगलबार विहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि पाँच दिनअघि अस्पतालमा भर्ना भएका भरतपुर महानगरपालिका वडा नं। ११ का उनलाई सुगर, प्रेसर र मुटुसम्बन्धी रोग थियो ।उनीमा संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।
कोभिडको ‘लेभल १’ उपचार गर्न सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका उनको मंगलबार विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको थियो ।
कहा देखिए नयाँ संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा महात्तेरीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने धनुषामा ४५ जना बिरामी थपिएका छन् ।
त्यस्तै न चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सल्यान, नवलपरासी पश्चिम र सिराहामा १२ ।१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १० । १०, बाँके ९, डँडेलधुरा र सप्तरीमा ७ । ७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २ । २ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । इलाम जिल्लामा मंगलबार पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
नेपालमा पुष्टि भएका कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ५ सय ८४ जना डिस्चार्ज भएका छन् ।


















