काठमाडौं, २८ जेठ । कोरोना महामारीको नियन्त्रणका सम्बन्धमा सरकारलाई सुझाव दिन र आम जनताका सरोकार र आवश्यकतालाई सम्बोधन गर्ने मागहरु लिएर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा एक प्रतिनिधि मण्डल प्रधानमन्त्री के.पी. ओलीको ध्यानाकर्षण गर्न बालुवाटार प्रस्थान गरेको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार बिहान ११ : ०० बजे प्रधानमन्त्रीसंग भेट्न नेता पौडेलको टोली बालुवाटार जाने जानकारी दिनुभएको थियो ।
नेपाली कांग्रेसको जेठ २६ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले वरिष्ठ नेता पौडेलको संयोजकत्वमा सो प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको थियो ।
नेपालमा कोरोना महामारीको नियन्त्रणका सम्बन्धमा सरकारले अपनाएका उपायहरु र आम जनताका सरोकारका बारेमा समीक्षा गर्न बसेको सो बैठकले सरकार कोरोना नियन्त्रण गर्न र आम जनताका मुद्दाहरुको संबोधन गर्न पूर्णतः असफल भएको निष्कर्ष निकालेको थियो । सो बैठकले सरकारलाई एक दर्जन सुझाव पनि दिएको छ । जुन यस प्रकार छन् :
(क) २०७७/०२.२० गते कोभिड १९ को परिक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परिक्षण निर्देशिका संशोधन गरी आरटी–पिसीआर परिक्षण गर्नु पर्नेको दायारा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबैलाई पीसिआर विधिबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् । पिसिआर परिक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।
(ख) कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस् । कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस् ।
(ग) क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा क्वारेन्टाइन संचालन गरी प्रत्येक क्वारेन्टाइन स्थलमा पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस् । क्वारेन्टाइन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत सुनिश्चित गरियोस् ।
(घ) कोभिड १९ बाहेक अन्य रोगका सम्बन्धमा खोप, औषधी, प्रतिरोधात्मक, उपचारात्मक सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस् । लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन् । यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ । यस्ता समस्याको समाधानका लागि आवश्यक कार्य गर्न सरकारसँग माग गर्दछ ।
(ङ) राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार भइरहनु निर्लज्ताको पराकाष्ठा हो । कोभिड १९ नियन्त्रण गर्न काम गर्न नसकेको सरकार यस कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । नेपाली कांग्रेसको यो बैठक त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गर्दछ । हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यस सम्बन्धमा पनि तत्काल सार्वजनिक रुपमा जानकारी गराउन सरकारसँग माग गर्दछ ।
(च) राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस् । राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरियोस् र राहतको वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द गरियोस् ।
(छ) अहिले पनि विभिन्न देशमा नेपाली दिदिबहिनी—दाजुभाइहरु बिचल्लीमा परेका छन । गर्भावस्था लगायतका शारीरिक अवस्थाका कारणले पनि धेरै मानिस समस्यामा छन् । सरकारले तिनलाई घर फर्काउन गरेको काम अपर्याप्त छ । विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरियोस् ।
(ज) नेपाल नफर्केर विदेशमै बसिरहेका नागरिकहरु प्रतिको जिम्मेवारी पनि सरकारले पूरा गर्नु पर्छ । कैयन विद्यार्थीहरु अलपत्र परेका छन् । उपचार गर्न, परिवार भेट्न गएकाहरु अलपत्र परेका छन्, कैयनले रोजगारी गुमाएका छन् । विदेशमा रहेका आफ्ना नागरिकहरुप्रति यथेष्ट ध्यान पु¥याइयोस् ।
(झ) खाडी मुलुक लगायतका विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम होस् ।
(ञ) नेपाल र नेपाल बाहिर भएको लकडाउन र त्यसको परिणाम स्वरुप लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक छ । अर्थतन्त्रलाई चलायमान गर्न उद्योग व्यवसाय र कृषिसँग जोडिएका क्षेत्रहरुमा ठोस राहत र सहयोग घोषणा गर्न सरकारसँग माग गर्दछ ।
(ट) औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वः व्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको अवस्थामा तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज ल्याउन माग गर्दछ ।
(ठ) जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउन माग गर्दछ ।


















