Prakash Adhikari June 10, 2020

 

काठमाडौं, २८ जेठ। सरकारले २०७६ सालमा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अब नलिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल एसइई परीक्षा लिन संभव नभएको र विद्यार्थीको शैक्षिक बर्ष खेर जान नदिन विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरी कक्षा ११ मा भर्ना हुन सक्ने व्यवस्था मिलाउने प्रबन्ध गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीहरुको योग्यता निर्धारण गर्ने, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर देशभरका अधिकांश सामुदायिक विद्यालयहरूलाई क्वारेन्टाइन बनाइएकोले तत्काल कुनै प्रकारको परीक्षा लिन संभव नभएको जनाउदै यो विकल्प अपनाइएको बताइएको छ ।

अब विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने छ ।

गत चैत ६ गतेबाट निर्धारित भएको कक्षा १० को एसइई परीक्षा विश्वमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि संक्रमणको डरले रातारात चैत्र ५ गते स्थगति गरिएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको सो परीक्षा यस शैक्षिक शत्रको लागि टरेको छ ।

Share Now

Leave a comment.