काठमाडौं, २ आषाढ । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमण परीक्षण गरिएका नमूना मध्ये ३ सय ८० जनाको नमूनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो संगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६ हजार ५ सय ९१ पुगेको छ।
तीमध्ये १ हजार १ सय ५८ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ।
नेपालका ७७ जिल्ला मध्ये ७३ जिल्लामा कोरोना भाइरसको संक्रमणमा परेका विरामी भेटिएका छन् ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
असार २ गते मङ्गलवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क
- ६,५९१ कुल सङ्क्रमण
- ७३ प्रभावित जिल्ला
- विगत २४ घण्टामा पीसीआर परीक्षण ५,०५५
- चिकित्सकीय निगरानीमा अलग्गै ५,५३१
- देशभरि क्वारन्टीनमा १,३३,००९
- अहिलेसम्म निको १,१५८
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्।
सरकारले सोमवार पुष्टि गरेको सङ्क्रमितको सङ्ख्या ४५१ थियो।
त्यसैगरी शनिवार र आइतवार क्रमशः दुई जनाको मृत्यु तथा २ सय ७३ जनामा सङ्क्रमण र एक जनाको मृत्यु र ४ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।


के छ अरू तथ्याङ्क ?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ सय ५५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या एक लाख १ लाख ४३ हजार ७ सय ३८ हजार नौ पुगेको छ।
क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि १ लाख ३१ हजार ९ व्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमशः प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।
अहिले देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुने गरेको छ।(बीबीसीबाट)


















