काठमाडौं, ३ आषाढ । नेपालमा विगत २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ भने थप एक जनाको मृत्यु भएपछि कुल मृतकको संख्या २० पुगेको छ ।
संक्रमित मध्ये १ हजार १ सय ६७ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ।
विगत २४ घण्टामा नौ जना निको भएर अस्पतालबाट घर फर्किएको डा. गौतमले बताउनुभयो ।
अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोरोना संक्रमण विस्तार भएको पुष्टि भएको छ।
नेपालमा कोरोना भाइरसको संक्रमण
असार ३ गते बुधबार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क
- ७,१७७ कुल सङ्क्रमण
- ७३ प्रभावित जिल्ला
- विगत २४ घण्टामा पीसीआर परीक्षण ६,०३७
- चिकित्सकीय निगरानीमा अलग्गै ५,९९०
- देशभरि क्वारन्टीनमा १,२५,७९८
- अहिलेसम्म निको १,१६७
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड १९ भएका व्यक्ति फेला परेका छन्।
सरकारले मङ्गलवार पुष्टि गरेको सङ्क्रमितको सङ्ख्या ३ सय ८० थियो।
त्यसैगरी आइतबार र सोमबार क्रमशस् एक जनाको मृत्यु र ४ सय २५ जनामा सङ्क्रमण तथा ४ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
मृत्यु भएकी महिला को हुन्
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार साँझ मृत्यु भएकी महिलाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।
बीबीसीकी नेपालगञ्ज संवाददाता विमला चौधरीका अनुसार बाँके जिल्लाको वैजनाथ गाउँपालिका ६ की ४६ वर्षीय महिलाको दायाँ फोक्सोमा समस्या देखिएपछि गत जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो।
डा. गौतमका अनुसार ती महिलामा मिर्गौलाको पनि समस्या रहेको बताए।

उनको सोमवार दिउँसो कोरोनाभाइरस परीक्षणका लागि स्वाब सङ्कलन गरिएको बाँके स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले जानकारी दिनुभयो।
अस्पतालका अनुसार महिलाको मृत्यु सोमवार साँझ भएको र परीक्षणको नतिजा मङ्गलवार राति आएको हो।
श्रेष्ठले मृतकको शव अस्पतालकै शवगृहमा रहेको र कोभिड-१९ निर्देशिकाबमोजिम अन्तिम संस्कार गरिने बताउनुभयो।
बाँकेमा कोरोनाभाइरस सङ्क्रमणका कारण भएको यो दोस्रो मृत्यु हो। यसअघि नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषमा कोरनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो
के छ अरू तथ्याङ्क ?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १लाख ४९ हजार ५ सय ७२ पुगेको छ।
क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि एक लाख २५ हजारभन्दा बढीव्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमशस् प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।
अहिले देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुने गरेको छ।(बीबीसीबाट)


















