Prakash Adhikari June 18, 2020

काठमाडौं, ४ आषाढ। तनहुँ हाइड्रोपावर कम्पनीमा काउण्टर ग्यारेण्टी दिएको पूरै रकम फिर्ता गर्न अदालतले आदेश दिएपछि सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंकलाई बुधबार बिहान र साँझ गरेर दुई किस्तामा पुरै पैसा फिर्ता दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले पाउनुनुभ पर्ने सबै रकम फिर्ता पाएको जानकारी दिनुभएको छ । बैंकले साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो।

इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो। मुद्दा जितेपछि त्यहाँको बैंकले पैसा फिर्ता गरेको हो।

सीएमसी कम्पनीको वित्तीय अवस्था नाजुक भएपछि सो कम्पनीले नेपालको मेलम्ची खानेपानी आयोजना र तनहुँ जलविद्युत परियोजनामा सन्तोषजनक रुपमा काम गर्न सकेको थिएन ।

आयोजनाले संझौता अनुरुप कम्पनीलाई चेतावनी दिएर उसंगको करार भंग गरी समयमा काम गर्न नसकेकोमा कार्य सम्पादन प्रत्याभूति कोषको रकम जफत गरेको थियो । सो कम्पनीको तर्फबाट कम्पनीको तर्फबाट आयोजनामा काउण्टर ग्यारेण्टी इन्भेस्टमेण्ट बैंकले दिएकोे थियो ।

सीएमसीसंगको संझौता बमोजिम बैंकले आयोजनालाई रकम भुक्तानी गरेपछि त्यसको शोधभर्ना कम्पनीबाट पाउनु पर्ने थियो । तर बैंकले दावी पेश गर्दा उल्टै सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो।

मुद्दा परेपछि इटालीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम रोक्यो।

सुरु अदालतमा एकल इजलासले इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो।

बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले इटाली मै पुनरावेदन गर्यो र तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गर्यो।

अदालतको फैसला बमोजिम आफूले काउण्टर ग्यारेन्टीवापत दिएको सबै रकम फिर्ता पाएकोले बैंकको नाफामा यसले सकारात्मक प्रभाव पारेको छ । अन्यथा यो बर्ष बैंकले त्यति नै रकम प्रोभिजनमा राख्नुपर्ने थियो ।

Share Now

Leave a comment.