वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १० आषाढ(बीबीसी) । अमेरिकाका प्रमुख सरुवा रोग विशेषज्ञले सांसदहरूलाई केही राज्यमा ‘बेचैन पार्ने गरी कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि’ देखिएको बताएका छन्।
डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोनाभाइरसको नयाँ प्रकोप रोक्नका लागि आगामी केही दिन महत्त्वपूर्ण हुने बताउनुभएको हो।
अमेरिकाका केही राज्यहरूमा सङ्क्रमणम तीव्र गतिमा बढिरहेको छ।
फाउची र अन्य तीन जना विज्ञहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कहिल्यै परीक्षणलाई कम गर्न नभनेको बयान दिनुभएको छ।
ट्रम्पको खण्डन
ओक्लाहोमामा भएको एउटा र्यालीमा ट्रम्पले सङ्क्रमण कम देखाउन परीक्षणको दायरा कम गर्नु भन्ने सल्लाह दिइएको बताएपछि विज्ञहरूको भनाइ आएको हो।
ह्वाइटहाउसले भने राष्ट्रपतिको भनाइ व्यङ्ग्यात्मक भनेको छ।
डा. फाउचीले भन्नुभयो, ‘मेरो जानकारीमा भएसम्म हामीमध्ये कसैले पनि कहिल्यै पनि परीक्षण कम गर्न भनेका छैनौँ।’
परीक्षण बढाइने
कोरोनाभाइरस महामारी रोकथामका लागि अमेरिकाले चालेका कदमहरूबारे अनुसन्धान गर्न संसदीय समितिलाई बयान दिँदै डा. फाउचीले यस्तो भन्नुभएको हो।
डा.फाउची न्याश्नल इन्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सिअस डिजिजेज्का निर्देशक हुनुहुन्छ।
उहाँले थप परीक्षणहरू गरिनेमा जोड दिनुभएको छ।
सेन्टर्स फर डिजिजेज् कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसी, फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीए र डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेजबाट प्रतिनिधित्व गर्ने अन्य तीनजना अधिकारीहरूले पनि राष्ट्रपतिको भनाइ खण्डन गनुभएको छ।
उहाँहरू कसैले कहिल्यै पनि परीक्षण कम गर्न सल्लाह नदिएको बताउनुभयो।
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण हालसम्म एक लाख २० हजार जनाको ज्यान गइसकेको छ। यो सङ्ख्या विश्वकै सबैभन्दा धेरै हो।


















