प्रदीप बस्याल / बीबीसी न्यूज नेपाली
काठमाडौं, १० आषाढ(बीबीसी) । त्रिभुवन विमानस्थलमा पछिल्लो साता दैनिक औसतमा १० उडान भए पनि कोरोनाभाइरसका कारण रोकिएको आन्तरिक र अन्तर्राष्ट्रिय उडान तत्काल नियमित हुने अवस्था नरहेको उड्डयन अधिकारीहरूले बताएका छन्।
नियमित आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा चैत दोस्रो सातादेखि सुरु गरेर पटक-पटक थपिएको प्रतिबन्ध असार २१ गतेसम्म कायम रहेको छ।
पछिल्लो सातामा विमानस्थल उद्धारका लागि गरिएका चार्टर्ड उडानहरूका कारण केही व्यस्त छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्नुहुन्छ, ‘आन्तरिक उडान सुरु गरेर मात्र अन्तर्राष्ट्रियतर्फ सोच्ने मनस्थिति बनिरहेको छ। अन्तिम निर्णय भने उच्चस्तरीय समितिकै हातमा छ।’
‘नेपालको मात्रै विषय होइन’
नेपालले विदेशमा पुन व्यावसायिक उडान सुरु गर्न गन्तव्य मुलुकबाट समेत अनुमति लिनुपर्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले अहिले नेपालबाट उडान हुने गन्तव्य देशहरूले त्यसतर्फ पाइला नचालेको बताउनुभयो।
केसीले भन्नुभयो, ‘व्यावसायिक अवस्था अनुकूल नभएर नेपालका लागि नियमित उडान गर्ने कम्पनीहरूले समेत सुरु गर्न चाहेका छैनन्। त्यसैले यो नेपाल मात्रैको प्रश्न होइन।’
यात्रुको सामाजिक दूरी कायम राखेर दैनिक केही सीमित उडान गर्दा नै विमानस्थलका कर्मचारी नयाँ अवस्थाबारे गुनासो गर्न थालेका बताइएको छ।
विमानस्थल खोल्न चुनौती
लकडाउन सुरु भएपछि विमानस्थलमार्फत् ६,००० भन्दा बढी मानिसहरू भित्रिएका छन् भने १०,००० भन्दा बढी बाहिरिएका छन्।

कर्मचारीमा सङ्क्रमण देखिएमा ती कर्मचारीसँग कार्यरत सबैलाई क्वारेन्टाइनमा राख्न मिल्ने गरी सिफ्ट मिलाइएको विमानस्थलले जनाएको छ।
प्राधिकरणका महानिर्देशक पोखरेल भन्नुहुन्छ, ‘पूर्ण रूपमा खुला गरेपछि जो पनि आउनसक्ने भएकाले त्यसअघि हाम्रो क्वारन्टीन र परीक्षण क्षमतालाई समेत हेर्नुपर्छ।’
उद्धार उडानमा आएकै कतिपयमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनुले पनि सशङ्कित पारेको अधिकारीहरूको भनाइ छ।

कोरोना भाइरस नेपाल: लकडाउनपछि हवाईयात्रा गर्दा काठमाण्डू विमानस्थलमा नयाँ नियम
खुलागर्दा पनि केही समय पूर्ण रूपमा उडान आउजाउ गर्न दिन सकिने अवस्था नरहेको बताउँदै पोखरेलले भन्नुभयो, ‘उडानका सङ्ख्या र सेक्टर नियन्त्रण गर्नैपर्ने हुन्छ।’
काठमाडौंका विमानस्थलमा विमान पार्किङको पनि समस्या देखिन सक्ने आकलन छ।
अन्तर्राष्ट्रिय उडान गर्ने दुई स्वदेशी विमानसेवा नेपाल वायुसेवा र हिमालय एयरलाइन्ससँग आठवटा विमान छन् र काठमाडौंको विमानस्थलमा नौ ठूला विमान मात्रै पार्किङ गर्न मिल्छ।
सामाजिक दूरी
चार्टर्ड उडानमा विमानभित्र दूरी कायम गरिएको छैन।
तर नियमित उडान खुला गर्दाको अवस्थामा त्यस्तो विकल्पमा जानुपर्ने उड्डयन अधिकारीहरू बताउँछन्।
खाडी मुलुक र मलेशियाबाट घर फर्कन खोजिरहेका नेपालीले टिकट नपाएको गुनासो गरिरहेका छन्।

खाडीबाट आउनेमध्ये धेरै त्यहाँ आममाफी पाएका नेपाली छन्। बिरामी र गर्भवती महिला पनि फर्केका छन्।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल त्यहाँ श्रमका लागि गएका धेरै नेपालीहरू नियमित उडान सुरु भएपछि सस्तोमा टिकट पाइने आशामा रहेका बताउँनुहुन्छ।
उहाँ भन्नुहुन्छ, ‘जागिर गुमाएर, तलब घटेका वा बेतलबी विदामा गएका धेरै नेपालीहरू घर फर्कनका लागि नियमित उडान कुरेर बसेका छन्।’
विदेशबाट फर्कने नेपालीलाई सास्ती
विदेशबाट आउने नेपालीहरूका लागि क्वारेन्टाइन र स्वास्थ्य परीक्षण अनिवार्य गराइएकाले यतिखेर विमानस्थलले थप जटिलता सामना गरिरहेको छ।
उनीहरूलाई विमानस्थलबाटै प्रदेश सरकारका बसहरूले क्वारेन्टाइन्मा लैजाने गरेका छन्।
तर फरक देशहरूमा पीसीआर परीक्षणका मापदण्ड फरकफरक भएकाले उनीहरूको व्यवस्थापनमा जटिलता देखिएको केसीको भनाइ छ।
‘बाङ्लादेशमा चिकित्साशास्त्र पढ्दै गरेकाहरूले उतै जाँच गरेर आएकाले सहज भयो र उनीहरू घरमा क्वारेन्टाईनमा बस्न जान सके’, केसीले थप्नुभयो, ‘खाडीबाट आउनेहरू अवस्था फरक छ। धेरैजसो उनीहरूको परीक्षण नभएको मात्र होइन, बेखर्ची समेत छन्।’


















