काठमाडौं, १२ आषाढ । नेपालका कोरोना भाइरसबाट जीवन गुमाउनेहरुको संख्या २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकी अन्दाजी २५ वा ३० वर्षकी महिलामा कोरोना पुष्टि भएपछि मृतकको संख्या २७ पुगेको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा उनलाई असार ११ गते फेला पारिएको थियो उपचारार्थ अस्पताल लगिएको उनलाई अस्पतालमा मृत घोषित गरिएको थियो ।
उनको नमुना परीक्षणको नतिजामा असार १२ गते कोरोना पुष्टि भएको थियो।
यस अघि आत्महत्या गरेका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि मृतकको संख्या २६ पुगेको हो।
बुधबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका दुल्लु नगरपालिका-१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो।
गत जेठ ११ गते भारतबाट दैलेख आइपुगको युवक पञ्चकोसी माध्यामिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टाइनमा बसेका थिए ।
उनीसँगै क्वारेन्टाइनमा बसेका २ सय ११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको थियो ।
नेपालमा विगत २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११ हजार ७ सय ५५ पुगेको छ।
तीमध्ये २ हजार ६ सय ९८ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड १९ भएका व्यक्ति भेटिएका छन्।
बिहीवार विभिन्न जिल्लामा ४ सय ३४ जना र बुधवार ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
गत असार ४ गते एकै दिन सर्वाधिक ६ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ५ सय ३५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २ लाख ६ हजार २ सय ७१ पुगेको छ।
क्वारन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि ७१ हजार जनाभन्दा बढी व्यक्ति क्वारन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
असार १२ शुक्रवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क
- ११,७५५ कुल सङ्क्रमण
- ७६ प्रभावित जिल्ला
- विगत २४ घण्टामा पीसीआर परीक्षण ६,५३५
- चिकित्सकीय निगरानीमा अलग्गै ९,०३०
- देशभरि क्वारन्टीनमा ७१,०१२
- अहिलेसम्म निको २,६९८
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय



















