काठमाडौं, २० आषाढ । प्रधानमन्त्रीको राजिनामा मागले भाँडिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक थप दुईदिनको लागि स्थगित भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।
पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ।
बैठक स्थगन गर्नु अगाडि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको बताइएको छ । स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको छ।
शुक्रबार एक एक जना साक्षी राखेर अध्यक्षद्धय ओली र प्रचण्डबीच बालुवाटारमा भएको तीन घण्टा लामो वार्तामा दुवै नेताहरु आफ्नो अडानमा कायम देखिएपछि शनिवार बिहान पुन वार्तामा बस्ने गरी छलफल टुंगिएको थियो।
बिहिबार प्रधानमन्त्री ओलीले पार्टीसंग समन्वय नगरी अकास्मात संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि अध्यक्षद्धय तथा अन्य नेताहरूबीच छलफल गरी समस्या समाधान गर्न शनिवारसम्म बैठक स्थगन गरिएको थियो।
नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरूले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि पार्टीमा ध्रुवीकरण भएको छ ।
प्रधानमन्त्री पक्ष दुवै पदबाट राजिनामा नदिने र उहाँका विरोधीहरु राजिनामा नगराई नछोड्ने भएकोले यो विवाद कुन रुपमा टुंगिन्छ भन्ने चासो सर्वत्र व्याप्त भएको छ ।


















