काठमाडौं, २२ आषाढ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको बेलामा विदेशी हस्तक्षेप बढ्न थालेको छ ।
सत्तारुढ दलभित्रको विवाद चरमोत्कर्षमा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्नुभएको समाचार सार्वजनिक भएको छ।
राजदूत राजदूत होउले आइतबार साँझ पूर्वप्रधानमन्त्री नेपाललाई उहाँको कोटेश्वरस्थित निवासमा भेट्नुभएको थियो ।
नेकपाका नेताहरुले राजदूत होउले प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटिसकेको अनुमान गरेका छन् ।
राजदूतहरुले भेटघाट गर्दा प्रोटोकल अनुसार पहिले प्रधानमन्त्रीलाई भेट्ने चलन छ । प्रधानमन्त्रीलाई भेटेपछि अरुलाई भेट्ने बाटो खुल्ने भएकोले यसो गरिएको हो । त्यस हिसाबले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष के.पी. ओली, पूर्वप्रधानमन्त्री तथा अर्का अध्यक्ष प्रचण्डलाई भेटेपछि नेता माधवकुमार नेपालको पालो आएको हो ।
राज्य स्तरका सरसहयोगको विषयमा कुटनीतिक भेटघाट हुँदा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति हुने भएपनि पार्टी स्तरका विषय र व्यक्तिगत चासोका विषयको भेटघाटलाई न कुटनीतिक नियोगले सार्वजनिक गर्ने गरेका छन् न भेट्ने नेपाली नेता तथा अधिकारीहरुले । यद्यपि परराष्ट्रको स्वीकृति नलिइकन राजनीतिक भेटघाट गर्न नपाइने आचार संहिता परराष्ट्रमन्त्रालयले बनाएको छ ।
नेता नेपाल दिउसो पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुलमटारमा पुगेर फर्कनुभएको थियो । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आइतबार बिहान बालुवाटारमा भएको छलफलको यथार्थ विवरण लिन नेता नेपाल खुलमटार जानुभएको थियो । खुमलटारबाट फर्केपछि साँझ नेता नेपाल र राजदूत यान्छीको भेटघाट भएको बताइएको छ ।आइतबार राजदूतसंग भएको भेटबारे वरिष्ट नेता नेपालको सचिवालयले पुष्टि गरेको छ। तर कुराकानी के भए भन्नेबारे बताइएको छैन।
पार्टीभित्रको विवादलाई लिएर आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय माधव नेपाल र नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो । त्यसलगत्तै दुई अध्यक्षबीच सहयोगीहरुसहित बालुवाटारमा वार्ता भएको थियो।वार्तामा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पार्टीका महामन्त्री विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सिंचाई तथा ऊर्जामन्त्री बर्षामान पुन सहयोगीका रुपमा सहभागी बन्नुभएको थियो ।
नेकपाभित्रको हालको विवादमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओली एकातिर र अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री द्धय झलनाथ खनाल, माधव नेपाल र पार्टी उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम एकातिर हुनुहुन्छ । स्थायी समितिका ४४ जना सदस्यहरु मध्ये ३० जना प्रधानमन्त्रीको विरुद्धमा रहेको सार्वजनिक भएको छ ।
यस पहिले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश जारी गरी तराई केन्द्रीत समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई विभाजन गर्न प्रहरी र प्रशासनको सहयोगमा सांसदको अपहरण समेत गरेको बेला बैशाख १७ गते पनि चिनिया राजदूतले नेकपाका नेताहरुलाई भेट्नुभएको थियो ।
त्यति बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नै चिनिया राष्ट्रपति सि जिनफिड.संग टेलिफोन वार्ता गरेपछि राजदूत सक्रिय भएर सो संकट टारिएकोले प्रधानमन्त्री तथा के.पी. शर्मा ओलीको पक्षमा विदेशी हस्तक्षेप भएको आरोप सत्तारुढ नेकपाभित्रै लाग्ने गरेको छ ।
आफ्नो पक्षमा विदेशी शक्तिलाई हार गुहार गरी राष्ट्रपतिदेखि राजदूतसम्मको दबाव सिर्जना गर्दा विदेशी हस्तक्षेप नहुने, आफ्ना प्रियपात्र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा भारतीय राजदूतबासमा पसेर राजदूत भेट गर्दा विदेशी चलखेल निम्त्याएका नहुने तर पार्टीको मर्यादा र अनुशासनमा बसेका पदमा नरहेका बाँकी नेताहरुलाई विदेशीको एजेण्ट बनेर आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाएपछि नै जारी स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामाको माग प्रखर रुपमा उठेको हो ।
प्रधानमन्त्री ओली पक्षधरहरुले विगतमा पनि नेपालका लागि पूर्वभारतीय राजदूत श्यामशरण नेपाल आएर होटलमा बसेर चलखेल गरेको आरोप लगाएका थिए । तर भारतको हालको राजनीतिक प्रवृत्ति नियाल्नेहरुले भने भारतीय कांग्रेसको सरकार भएको बेलामा नेपालमा राजदूत भएका श्यामशरणलाई अहिले भारतीय जनता पार्टीको कट्टरपन्थी मोदी सरकारले उपयोग गर्न नसक्ने बताएका थिए । उनीहरुका अनुसार जतिखेर ओलीभक्त सञ्चारमाध्यम पूर्वराजदूत श्यामशरण नेपाल आएर मेरियट होटलमा बसेको झूटा समाचार प्रकाशन र प्रशारण गर्दै थिए, त्यतिबेला उहाँ सिमलामा होलिडे मनाउदै हुनुहुन्थ्यो । नेपालमा लकडाउन थियो । अन्तराष्ट्रिय उडानहरु बन्द थिए ।
टेलिफोन र सामाजिक सञ्जालका भाइवर, ह्वाट्स एप, म्यासेन्जरबाट व्यक्तिहरुसंगको सम्पर्क गर्न पाउने सुविधा भएको बेलामा भौतिक रुपमा उपस्थित नै नभइकन आफ्नो काम सम्पन्न हुने समयमा अनावश्यक विवाद गरेर प्रधानमन्त्री ओलीलाई जोगाउन भारतका पूर्व कुटनीतिज्ञहरुलाई बदनाम गरिएको घट्ना अझै विस्मृतिमा पुगेको छैन । मित्र राष्ट्र चीनबाट राजनीतिक र कुटनीतिक स्तरमा हस्तक्षेप हुँदा पनि भारतलाई सत्तोसराप गरेर आफ्नो कुर्सी जोगाउन खोज्ने प्रधानमन्त्री ओलीलाई नेपालीमा रहेको भारतविरोधी भावना भड्काएर लोकप्रिय हुन खोज्ने नेताको आरोप पार्टीभित्रैबाट लाग्न थालेको छ ।


















