काठमाडौं, २५ आषाढ ।आजदेखि अजोड इन्स्योरेन्सको प्राथमिक सेयर खुला भएको छ।
निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको रुपमा २०६४ चैत २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता अजोड इन्स्योरेन्सले २०७५ असार १५ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृती पाएको थियो।
कम्पनीले २०७५ असार २१ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ।
निर्जीवन बीमा कम्पनीको रुपमा रहेको यस कम्पनीको जारी पूँजी १ अर्ब रहेको छ ।
कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार देखि बिक्रि खुला गरेको हो।
सार्वजनिक निष्काशन गरिएको सेयर मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहने २६ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन्।
इन्स्योरेन्सको आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म बिक्री खुला हुनेछ। त्यस अवधिमा माग अनुसार आवेदन नपरे साउन ८ गतेसम्म आवेदन दिने मिति लम्बिन सक्नेछ।
कम्पनीको आईपीओमा प्रति शेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, शेयर प्रत्यभूतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल रहेका छन् छन्।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।
काठमाडौंको सीटीसी मल सुन्धारामा प्रधान कार्यालय रहेको अजोड इन्स्योरेन्सले २६ जिल्लाका ३८ वटा शाखा तथा उपशाखा कार्यलयहरूमार्फत आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ।
इन्स्योरेन्सले समय सापेक्ष योजना तथा सेवाहरु विकास गरी सम्भाब्य ग्राहकहरुको पहिचान गरेर आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ।
कम्पनीले लगानीमा विविधिकरण गरी औसत आयमा वृद्धि गर्ने तथा बीमितहरूलाई प्रतिफल वृद्धि गर्ने योजना सारेको छ।
नयाँ इन्स्योरेन्स कम्पनीहरूमा आईपीओ जारी गर्नेमा अजोड इन्स्योरेन्स पहिलो बनेको छ।
यसको संगसंगै बीमा समितिबाट सञ्चालन अनुमति पाएका जनरल इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स आईपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसकेका छन्।


















