बेनी(म्याग्दी), २६ आषाढ । बिहिबारदेखि परेको अविरल बर्षाले म्याग्दीका ठाँउ ठाँउमा गएको पहिरो र बाढीले मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् ।
धौलागिरी, मालिका र मंगला गाउँपालिकामा खसेको पहिरोमा ३२ जना हराइरहेका छन् ।
धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिनुएको छ ।
त्यस्तै ताकमा ३ जना र विममा ८ जना हराईरहेको जानकारी स्थानीयले दिएका छन् ।धौलागिरी गाउपालिका–६ मराङको रिखामा शुक्रबार बिहान १० जना वेपत्ता छन् ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले १३ परिवारलाई विस्थापित गरेको छ ।
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ ।
पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, विम दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको डिएसपी किरणजंग कुँवरले जानकारी दिनुएको छ । त। ठाउँठाउँमा पहिरो गएर बाटो छेकिएकोले उद्दारमासमेत अबरोध भएको छ । उहाँले दरबाङ र सिमचौरमा एउटा टोली रोकिएको बताउनुभयो ।
यता बागलुङबाट बिपत् ब्यवस्थापन टोली, सशस्त्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिरो छिचोल्न समस्या परेको छ ।गाडी जान सक्ने अवस्था छैन ।
यसैबीच पहिरोको फसेका मध्ये सिंगा तातोपानीबाट २ जनालाई उद्दार गरिएको छ ।
यता रघुगंगा नदीमा आएको बाढीले बेनी– जोमसोम सडक अन्तरगत गलेश्वरमा रहेको बेलीव्रिज पुल बगाएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज पुल बगाउदाँ आवातजावत अवरुद्ध हुुनगएको छ ।
कटानले झोलुङेसहित राहुघाटमा रहेका २१ घरधुरीको बस्ती पनि जोखिममा परेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभएको छ ।

बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिकासंगै हिमाली पारीको जिल्ला मुस्ताङको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।
यातायात अवरुद्ध हुदाँ खाद्यान्न, औषधी, स्वास्थ्य सेवाका लागि लामो समय अवरुद्ध हुने स्थिति छ भने बेलीव्रिज बगेकोले सदरमुकाम बेनीबजारमा पिउनेपानीको पाईपमा क्षति पुगेको छ । बेनीमा खानेपानी अवरुद्ध भएको छ।


















