Prakash Adhikari July 15, 2020

 

काठमाडौं, ३१ आषाढ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता नरहेको स्पष्ट पार्नुभएको छ ।

 

बुधबार बिहान आफ्नो फेसबुक स्टाटसमा उहाँले  सो कुरा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ,”  ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ । स्वीस बैंकमा खाता र ५।५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।”

https://www.facebook.com/surya.thapa.754918/posts/3157530234339459

उहाँले प्रधानमन्त्री ओलीलाई बद्नाम गराउन सुनियोजित ढंगले थालिएको प्रयासको एक कडीका रुपमा यसलाई प्रस्तुत गर्दै अप्रमाणित र अपुष्ट समाचार तथा सूचनालाई आधार बनाएर समाचार बनाउने सञ्चारकर्मी तथा सञ्चार संस्थामाथि कारबाही गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।’

आफ्नो प्रेस नोटमा सल्लाहकार थापाले भन्नुभएको छ ,’राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।’

 

के लेख्यो ग्लोबल बाचले ?

 

भूसामरिक दृष्टिकोण, सुरक्षा निगरानी, आतंकवाद,अतिवाद र सबै रुपका कट्टरतावादका विषयमा जानकारी दिने उद्देश्यले बेलायतबाट ग्लोबल वाच एनालाइसिस डटकम नामक वेभसाइइट र अग्रेजीमा मासिक स्क्रिन वाच र फ्रेन्चमा इक्रान डे भिला नामक न्यूजलेटर प्रकाशित गर्ने र ग्लोबल वाच एनालाईसिस एसएएससंगको सहकार्यमा फ्रान्समा समेत सम्पादकीय कार्यालय रहेको यो संस्थाको प्रमुख सम्पादक अत्माने तेजागहार्ट रहेको यस संस्थामा  रोनाल्ड ज्याकवार्डलाई प्रति आतंकवाद र क्रिस्चियन मालार्डलाई अन्तर्राष्ट्यि राजनीति,भूसामरिक दृष्टिकोणका विज्ञ तथा सल्लाहकार सम्पादकमा राखिएको देखिन्छ ।

 

सो वेभसाईटको फेञ्च संस्करणमा ‘नेपाल : प्रधानमन्त्री के.पी. शर्मा ओलीको गन्धकयुक्त चिनिया सम्बन्ध “‘ शीर्षकमा रोनाल्ड ज्याकवार्डले एक समाचार विश्लेषण लेख्नुभएको छ ।

सो लेखमा चीनले विपन्न र कमजोर देशहरुलाई आफ्नो प्रभावमा कसरी पार्छ भन्ने एक नमूना हिमाली देश नेपाल भएको उल्लेख गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पाटीका प्रधानमन्त्रीमार्फत आफ्ना सम्पूर्ण स्वार्थहरु चीनले पूरा गर्दै आएको उल्लेख गरिएको छ ।

समाचारमा प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा नेपालका लागि चिनिया राजदूत हुँ चुन्ताईमार्फत भियतनामको टेलिकम्युनिकेशनमा लगानी गरेको र त्यसका लागि कम्बोडियाका प्रधानमन्त्री हुनसेनको प्रत्यक्ष हस्तक्षेपमा नोम्हपेनस्थित चिनिया उच्च कुटनीतिज्ञ बो जियाड.इयोले चाँजोपाजो मिलाएपछि प्रधानमन्त्री ओलीका अति निकटका व्यापारिक साझेदार यति ग्रुपका आड.छिरिड. शेर्पाले लगानीको विषय टुंग्याउनुभएको आरोप लगाइएको छ ।

सोही लेखमा दोस्रो पटक सत्तामा आएपछि प्रधानमन्त्री के.पी.शर्मा ओलीको सम्पत्ति बढेको र मिराबुण्ड बैंकको जेनेभा शाखामा उहाँ र पत्नी राधिका शाक्यको नाममा संयुक्त  खातामा  बार्षिक ५ लाख डलर प्रतिफल दिने गरी करिब ५५ लाख अमेरिकी डलर दीर्घकालिन निक्षेप तथा धितोपत्र विकल्पमा राखिएको उल्लेख गरिएको छ ।ग्लोबल वाचले के लेख्यो, तल हेर्नुहोस :

ग्लोबल वाच एनालाईसिस

त्यति भरपर्दो छैन

प्रधानमन्त्रीको कम्बोडियाको लगानी र चिनिया टेलिकम कम्पनीहरुलाई नेपालमा दिएको ठेक्का जस्ता विषयले हो कि भन्ने पार्न खोजिए पनि सो समाचारमा त्यति दम भने भेटिदैन । यसले प्रधानमन्त्री कार्यालयमा भिडियो कन्फरेन्सिड. सुविधासहितको डिजिटल एक्सन रुम बनाउन चीनको हुवावे कम्पनीलाई काम दिइएको, दुरसञ्चार संस्थाको फोर जीको झण्डै १९ अर्ब रुपैयाको काम हंगकंगमा आधारित चिनिया कम्पनी जेडटीईलाई दिइएको पनि उल्लेख गरेको छ ।

 

तर नेपालमा कोरोना भाइरस आएपछि त्यसको रोकथाम,नियन्त्रण र विरामीहरुको उपचारको लागि खरिद गर्न लागिएको स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा पाएको तर समयमा काम गर्न नसकेर ठेक्का गुमाएको ओम्नी ग्रुपको नाम पनि त्यसमा हुनु र चीनको बीआई परियोजनामा पार्नको लागि कम्युनिष्ट पार्टीका सरकारहरुले उच्च प्राथिमकतामा राखेको बुढी गण्डकी आयोजनाबाट पनि घुस खायो भन्ने प्रसंगले भने यस समाचारको सत्यतामा गम्भीर प्रश्न उठाएको छ ।

पेरिस र बेलायतमा कार्यालय र बेल्जियममा अनुवादको काम समेत गर्ने यो संस्थाले प्रधानमन्त्री ओलीको छत्रछाया नेपाल वायुसेवा निगमले फ्रान्सको एअरबसले निर्माण गरेका दुईवटा वाइडबडीका जहाज दलालमाथि दलाल खडा गरी खरिद गर्दा झण्डै ६ अर्ब ५९ करोड रकमको कतै उल्लेख नहुनुले यसको पहँुच र सत्यतामा प्रश्न उठ्ने स्थान भने सिर्जना गरेको छ । यो खरिदको कमिशन नेपाल भित्र्याउन निकै कठिनाई भएको र पछि एक बद्नाम सुन तस्करको खाताबाट नेपाल ल्याएर बाँडचुड गरेपछि ती तस्कर प्रधानमन्त्रीको वैदेशिक भ्रमणमा ठाँटबाँटका साथ जाने गरेको ब्यापारीहरु बताउछन् ।

वाईडबडीमा राखिएका चार थान इञ्जिन बेलायतको रोल्स रोयस कम्पनीमा बनेका हुन भने जहाजको एअर फ्रेम फ्रान्समा रहेको एअरबस कम्पनीले बनाएको हो ।

 

 

 

Share Now

Leave a comment.