चौतारा(सिन्धुपाल्चोक), १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा ५ जना बेपत्ता भएका छन् ।
गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् ।
पहिरोमा पुरिएको ङासम्बु शेर्पाको घरमा भने कोही पनि बस्दैनन् ।
गएराति करिब साढे १ बजे पहिरो गएको थियो । पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।
बिहीबार बिहानपख २ बजेतिर बलेफी नदी जलसतह एक मिटर बढेर आसपासको बाढी आएको सिन्धुपाल्चोक जलबिरे बाढी मापन केन्द्रले अभिलेख राखेको थियो । बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना केन्द्रले सुनकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्मै सुरक्षित रहन आग्रह गरेको छ ।
यसअघि गत असार २४ गते राति सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता छन् ।


















