काठमाडौं,१० साउन । ज्योति विकास बैंकले आफ्नो १२ औं बार्षिकोत्सवको अवसरमा महाबीर पुनको राष्ट्रिय आविश्ष्कार केन्द्रलाई ८ लाख रुपैया सहयोग गर्ने र डीपी सेवा आरम्भ गर्ने घोषणा सहित एकै दिन चार शाखाको शुभारम्भ गरेको छ ।
बैंकको १२औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलादीमा भएको विशेष कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले महावीर पुनको नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रको न्यानो नानी परियोजनामा १० बेबी वार्मर उत्पादनका लागि सो सहयोग दिने घोषणा गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम सञ्चालन गर्न “हाम्रो विकास प्रवर्द्धन कोष” स्थापना गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रलाई सोही कोषमार्फत सहयोग गरिएको हो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष हरिचन्द्र खड्काले आम नागरिकको आवश्यकताको पहिचान गर्दै सर्वसाधरणको निक्षेप संकलन गरी लगानीको लागि कर्जा दिन सकिने संभाव्य स्थानमा बैंकको शाखाहरु विस्तार गरेर पछिल्ला प्रविधि र उपयोगी उत्पादनमार्फत ग्राहकवर्गलाई सहज सेवा दिएर सेयरधनीका लागि नाफा र कर्मचारीको लागि सुरक्षित भविष्यको प्रत्याभूति गरिने विश्वास दिलाउनुभएको थियो ।
अध्यक्ष खड्काले कोरोना संक्रमणको महामारीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले ल्याएको कर्जाको ब्याजमा २५ प्रतिशत छुटको व्यवस्थालाई निःशर्त र बिना भेदभाव बैंकका ऋणीहरुलाई दिइएको जानकारी पनि दिनुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा कार्यक्रमका विशिष्ट अतिथि तथा बैंकका संस्थापक हरिप्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङमा स्थापित शाखा र घोराही शाखास्थित बैंकको ६१औं एटीएम को पनि डिजिटल उद्घाटन गर्नुभएको थियो ।

वार्षिकोत्सवकै अवसरमा ज्योति विकास बैंकले सेयर कारोबारको लागि थप सुविधा प्रदान गर्न “डीपी सेवा” सुचारु गरेको छ । सो सेवा ज्योति विकास बैंकको देशभरिका १ सय ५ वटै शाखाबाट उपलब्ध हुने छ ।
बार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरुलाई अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा पदक तथा कदरपत्र प्रदान गरि सम्मानित गर्नुभएको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मूल्य मान्यताहरुको परिधिभित्र रही समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने लक्ष्इ लिएको बताउनुभयो ।
समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरी संस्थागत साझेदारीको बाटो खोलिदिएको मा प्रसन्नता व्यक्त गर्नुभयो ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा ३४ जनाले रक्तदान गरेका छन् ।
हाल ज्योति विकास बैंकले १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब रु. ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३१ अर्व लगानी गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा सेयरधनी ध्रुव उप्रेती, संस्थापक सेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवकुमार भट्टराई र संस्थापक सेयरधनी हरिप्रसादको उपस्थिति रहेको थियो ।


















