काठमाडौं, ११ साउन । विगत २४ घण्टामा देशभरिमा थप १ सय ३० जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ६ सय १३ पुगेको छ।
अहिलेसम्म नेपालमा यस घातक भाइरसको संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ।
सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। अहिलेसम्म अर्थात् ७०.५५ प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५ हजार ४ सय ४० व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ।
साउन ६ गते रातिदेखि लकडाउन खुलेको ५ दिन अगाडि र ५ दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभएको छ।
थप आँकडा
विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सयवटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ४२ हजार ४ सय ५७ रहेको छ।

सो अवधिमा ७५ जना कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन्।
अहिले देशभरिका क्वारेन्टाइनमा १७ हजार ९ सय ३ जना छन्।
वीरगञ्जमा समुदायस्तरमा परीक्षण
समुदायस्तरमा नै कोरोनाभाइरसको सङ्क्रमण बढेको आशङ्का भएपछि प्रदेश २ को वीरगञ्ज महानगरमा आइतवारदेखि समुदायस्तरमै कोरोनाभाइरस परीक्षण सुरु भएको बताइएको छ।
जिल्ला विपद् व्यवस्थापन केन्द्र पर्साको बैठकको निर्णय अनुसार, वीरगञ्ज महानगरपालिकाभित्र समुदायस्तरमा परीक्षणको लागि स्वाब लिने काम शुरु गरिएको जनाइएको छ।

परीक्षणका लागि महानगरपालिकाले वडा नम्बर ९ स्थित रेल्वे माविबाट ुएक घर एक परीक्षणु अभियानको सुरुवात गरेको नगर प्रमुख सरावगीले जानकारी दिनुभएको छ।
यो अभियान महानगरका ३२ वटै वडामा सञ्चालन गरिने नगर प्रमुख सरावगीले बताउनुभयो। अभियानअन्तर्गत महानगर क्षेत्रमा मात्रै कम्तीमा ५० हजार व्यक्तिको स्वाब संकलन गरि परीक्षण गरिने उनले दाबी गर्नुभयो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार माईस्थान, राधेमाई र नारायणी अस्पतालबाट पनि परीक्षण सुरु गरिएको छ।


















