Prakash Adhikari July 31, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १६ साउन । अमेरिकाको रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव सार्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव अस्वीकृत गरिदिएका छन्।

ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै ढिलाइ गर्नुपर्ने बताएपछि उनीहरूको प्रतिक्रिया आएको हो।

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई अस्वीकार गर्नुभएको थियो।

चुनाव स्थगित गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पमा छैन। चुनाव सार्ने भए कङ्ग्रेसले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

प्रमाण
यसअघि राष्ट्रपति ट्रम्पले हुलाकमार्फत्‌ गरिने बढ्दो मतदानले धाँधली निम्त्याउने सक्ने र गलत नतिजा आउन सक्ने बताउनुभएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले मानिसहरूले ठीक र सुरक्षित ढङ्गले मतदान गर्न सक्ने कुराको सुनिश्चतता नभएसम्मका लागि चुनाव सार्ने विचार व्यक्त गर्नुभएको थियो।

ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो, ‘म त्रुटिपूर्ण चुनाव भएको हेर्न चाहँदिनँ। यदि यो चुनाव भयो भने इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुनेछ।’

राष्ट्रपति ट्रम्पका दाबीहरूलाई बल पुर्‍याउने एकदमै न्यून प्रमाण छ। तर लामो समयदेखि उहाँ हुलाकमार्फत् गरिने मतदानविरुद्ध उभिँदै आउनुभएको छ।

कोरोनाभाइरस महामारीबीच अमेरिकी राज्यहरू जनस्वास्थ्यलाई ध्यानमा राख्दै हुलाकमार्फत् गरिने मतदानलाई अझ सहज बनाउन चाहन्छन्।

सिनेटर मककोनेलले इतिहासमा हालसम्म राष्ट्रपतीय चुनावमा ढिलाइ नगरिएको बताउनुुभएको छ।

इतिहास
नेताद्वय मककोनेल र मकार्थी दुवैले अमेरिकी इतिहासमा निर्धारित समयभन्दा चुनावलाई कहिल्यै नसारिएको बताउनुभएको छ।

ट्रम्पका साझेदार रहेका अर्का सिनेटर लिन्ड्से ग्राहमले चुनावमा ढिलाइ गर्ने विचार राम्रो नभएको टिप्पणी गर्नुभएको छ।

यसैबीच, पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिकी लोकतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले चुनावमा ढिलाइ गर्न सुझाव दिएको केही घण्टापछि पूर्व राष्ट्रपति ओबामाको अभिव्यक्ति सार्वजनिक भएको हो।

पूर्वसांसद तथा नागरिक अभियानकर्मी जोन लेविसको अन्तिम संस्कारका बेला बोल्दै ओबामाले मतदानको अधिकारमाथि आक्रमण गरी अमेरिकी अल्पसङ्ख्यकहरूलाई निशाना बनाइएको बताउनुभएको थियो।

मतदान केन्द्रहरू बन्द गर्ने प्रयासहरूको निन्दा गर्दै ओबामाले दिवंगत जोन लेविसले जुन कुराको विरोधमा लडाइँ गरे त्यही कुरा गर्न खोजिएको टिप्पणी गर्नुभएको थियो।

Share Now

Leave a comment.