Prakash Adhikari January 26, 2018

काठमाडौं, १२ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहितका करिब २ सय जना विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुमलटार स्थित निवासमा शुक्रबार बिहानआयोजित कार्यक्रममा विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेशी विद्यार्थी समाजका कोषाध्यक्ष बसन्त ठाकुर, राजपाका विद्यार्थी नेताहरु आशिष देव, दीपेन्द्र साह, बरुण निसाद, खुसीलाल यादव, ज्ञानु यादव, सरोज यादव, सोनित ढुङ्गेल, अमन श्रेष्ठ, निरज कुशवाहा, गायिका सोलिना कुंवर, संगीतकार सन्तोष राज लगायत रहेका छन् । पार्टी प्रवेश गर्नेहरुमा अधिकांश इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी छन् ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै त्यसका लागि प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुनेबताए।

प्रचण्डले विद्यार्थीलाई संबोधन गर्दै  ‘हामीले राजनीतिक क्रान्ति धेरैपटक ग¥यौं, अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नुछ, त्यसका लागि तपाईहरु जस्ता प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ । हामी मधेशलाई सम्बोधन गर्ने कोशिसमा छौं । तर, अब सबै कुरा शान्तिपूर्ण रुपमा, संविधानको दायराबाट पुरा गर्न सकिन्छ । मधेशलाई विकास र समृद्धि चाहिएको छ, बामपन्थी सरकारले त्यसमा जोड दिनेछ ।’

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता प्रभु साहले मधेशमा विद्यमान विभेदको सम्बोधन विकास र समृद्धिबाट सम्भव हुने बताए।

पार्टी प्रवेश कार्यक्रममा राजपा विद्यार्थी महासचिव चन्द्रभूषण साहले माओवादी पार्टी नै मधेशी जनताको अधिकारको पक्षमा लड्ने पार्टी भएकाले आफूहरु पार्टी प्रवेश गरेको र निरन्तर माओवादी आन्दोलनमा क्रियाशील हुने बताएका थिए ।

Share Now

Leave a comment.