काठमाडौं, २६ साउन । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या संख्या २३ हजार नाघेको छ ।
विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका थप ३ सय ३८ बिरामी भेटिएपछि यस घातक रोगबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमणमा परेर थप ४ जनाको मृत्यु भएको पुष्टि भएसंगै कोरोना संक्रमणबाट जीवन गुमाउनेको संख्या ७९ पुगेको छ ।
नेपालमा अहिले ६ हजार ७ सय ३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६ हजार ४ सय ९३ जना भाइरसमुक्त भएका छन्।
गएको ५ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ।
नेपालमा सबैभन्दा सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३ हजार १ सय ४४ जना र वागमती प्रदेशमा १ हजार २ सय १० जना रहेका छन्।
नयाँ संक्रमित कहाँका ?
सोमवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै सङ्क्रमित बाँकेका ६३ जना रहेका छन्।
त्यसपछि काठमाडौंका ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकाका ललितपुर र भक्तपुरमा ४ । ४ जना सङ्क्रमित थपिएका छन्।
त्यस्तै रौतहटका ३१, पर्साका २२, मकवानपुरका २३ र सर्लाहीका २१ जनामा सङ्क्रमण देखिएको छ।

मृतकहरू कहाँका ?
सोमवार पुष्टि भएका मृतकहरू दुई पुरुष र दुई महिला रहेका छन्।
बाँकेको कोहलपुर नगरपालिकाकी ७० वर्षीया महिलाको आइतवार मृत्यु भएको थियो।
उच्च रक्तचाप र पारालाइसिसको बिरामी रहेकी उनमा मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताउनुभयो।
पर्साको बेदियाही गाउँपालिकाकी ४५ वर्षीया महिलाको पनि आइतवार निधन भएको थियो। उनमा पनि मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै काठमाडौंको मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको थियो। उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ।उनमा पनि मृत्युपश्चात कोरोना पुष्टि भएको थियो ।
कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि सोमवार निधन भएको छ। उनी मिर्गौलाको बिरामी रहेको बताइएको छ। उनमा पनि कोरोना पुष्टि भएको छ ।
परीक्षण
गएको २४ घण्टामा ८ हजार ४ सय ३२ वटा पीसीआर परीक्षण गरिएको छ।
हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा १ सय ४० जना रोगमुक्त प्रमाणित भएका थिए।
अहिले देशभरि क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना छन्।
अहिले गण्डकी र प्रदेश नं १ मा क्वारेन्टाइनमा हुनेको सङ्ख्या सर्वाधिक छ।


















