काठमाडौं, २६ साउन । राजधानी काठमाडौं उपत्याकामा कोरोना भाइरसका संक्रामक विरामी बढ्न थालेपछि सरकारले भदौ महिनाभरी लामो दूरीका सार्वजनिक यातायात सेवा तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द राख्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
यी सेवाहरु नेपालमा लकडाउन सुरु भएकै दिन चैत्र ११ देखि बन्द रहदै आएका छन् ।
ब्यवसायीको माग र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गर्न यसअघि सरकारले भाद्र १ गतेदेखि यी सेवाहरु सुचारु गर्ने निर्णय गरेको थियो ।
तर देशमा कोरोना भाइरसका संक्रमित बिरामीहरु बढ्न थालेको भन्दै आइतबार बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदौ १५ सम्म हवाई उडान र लामो दूरीका सार्वजनिक सडक यातायात बन्द राख्न सरकारलाई सिफारिस गरेको थियो।
तर काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमण बढ्दै गएको देखिएकोले सोमबारको मन्त्रिपरिषद्को बैठकले भदौ मसान्तसम्म नै यी सेवाहरु बन्द राख्ने निर्णय गरेको हो ।
सीसीएमसीले अन्तरजिल्ला सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि ती क्षेत्र सुचारु गर्ने निर्णय गरेको थियो।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरी मापदण्ड तयार पारेको थियो।
पछिल्लो समय काठमाडौं उपत्यका, वीरगञ्ज, बिराटनगर,जनकपपुर,नेपालगञ्ज,राजविराज लगायतका शहरमा कोरोना संक्रमण बढिरहेको छ।


















