मस्को(रुस),२८ साउन(एजेन्सी) । आधिकारिकरुपमा कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गर्ने रसिया विश्वकै पहिलो मुलुक बनेको छ।
भ्याक्सिनको पहिलो डोज राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलाई दिइएको थियो। पुटिनकी छोरीलाई कोरोनाविरुद्धको दुई डोज भ्याक्सिन दिइएको थियो।
भ्याक्सिनको दुई डोज दिएपछि उनको शरीरको तापक्रममा आएको परिवर्तन रेकर्ड गरिएको थियो।
पुटिनका अनुसार पहिलो डोज दिँदा उनको शरीरको तापक्रम ३८ डिग्री थियो। भ्याक्सिनको दोस्रो डोज दिएपछि तापक्रम १ डिग्री झरेर ३७ डिग्री कायम भयो। तर केही समयपछि फेरि तापक्रम बढ्यो र विस्तारै सामान्य अवस्थामा फर्कियो।
पुटिनका दुई छोरी छन्, मारिया र कटरिना। भ्याक्सिन दुई छोरीमध्ये कसलाई लगाइएको होरु यो प्रष्ट भएको छैन। तर पुटिनले सुई हानेपछि छोरीले स्वस्थ महसुस गरिरहेको बताउनुभएको छ। पुटिनको छोरीको शरीरमा धेरै मात्रामा एन्टीबडी बनिरहेको बताईएको छ। भ्याक्सिन कयौँ किसिमका जाँचबाट गुज्रिएको बताउँदै पुटिनले यो पूर्णतया सुरक्षित सावित भएको उल्लेख गर्नुभएको छ।
२० देशले अर्डर गरे
रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोका अनुसार विश्वभरका २० देशले उक्त भ्याक्सिन स्पुतनिक-बी का लागि प्रि-अर्डर गरेका छन्। रुसले ‘डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’बाट भ्याक्सिन ठूलो परिमाणमा बनाउन र विदेश प्रवर्द्धन गर्न लगानी गरिरहेको छ। रूसी वेबसाइटका अनुसार यो भ्याक्सिन भारत, साउदी अरब, इन्डोनेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको जस्ता देशले खरिद गर्ने इच्छा देखाएका छन्।
रूसी वेबसाइटका अनुसार सन् २०२० को अन्तसम्ममा भ्याक्सिनको २० करोड डोज तयार गर्ने योजना बनाइएको छ। यिनमा ३ करोड डोज रुसले आफ्ना लागि राख्दैछ।
भ्याक्सिनको उत्पादन सेप्टेम्बरमा सुरु हुनेछ।
रुस तेस्रो चरणको परीक्षण कयौँ देशमा गर्ने योजनामा छ। यिनमा साउदी अरब, ब्राजिल, भारत र फिलिपिन्स छन्।
पहिलो उपग्रहको नाममा भ्याक्सिन रुसको भ्याक्सिनको नामकरण आफ्नो पहिलो उपग्रह स्पुतनिक-भी को नामबाट गरिएको छ।
यसलाई सन् १९५७ प्रक्षेपण गरिएको थियो।
रुसले एक महिनाअघि नै भ्याक्सिन परीक्षणमा रहेको संकेत दिएको थियो। उसले १० देखि १२ अगस्तमा यो भ्याक्सिन दर्ता गर्ने जनाएको थियो। तर यस भ्याक्सिनलाई लिएर अमेरिका र बेलायतले भरोसा गरेका छैनन्।
रुसमाथि भ्याक्सिनको फर्मुला चोरेको आरोप पनि लागेको छ।
ठूलो मात्रामा परीक्षण यही महिना
रुसको रक्षा मन्त्रालयका अनुसार भ्याक्सिन परीक्षणको परिणाम आइसकेको छ। भ्याक्सिनबाट राम्रो इम्युनिटी विकसित हुने प्रमाण मिलिसकेको छ।
रुसले कोही पनि स्वयंसेवकमा यो भ्याक्सिनबाट नराम्रो असर देखाएको छैन।
रुसले आफूले बनाएको कोरोनाको भ्याक्सिन क्लिनिकल परीक्षणमा शत प्रतिशत सफल भएको जनाएको छ। तर विश्व स्वास्थ्य संगठनले यो भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा भने शंका गरेको छ।


















