Prakash Adhikari January 26, 2018

पोखरा(कास्की), १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलार्इृ जनमतको उपहास नगर्न आग्रह गरेका छन् ।

सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३ औं वार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै उनले काम चलाउ सरकारले गरेका निर्णयले जनमतको उपहास भएको बताए।

उनले बाम गठबन्धन मन परेन भन्दैमा सरकारले ढिकुटी रित्याउने गरि देशलाई कंगाल बनाउन लागेको पनि आरोप लगाएका छन्।
एमाले अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहित विपरितका निर्णयलाई आगामी सरकारले खारेज गर्ने समेत दावी गरे ।

उनले नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वच्छिक अवकाश दिन खोजिएको भन्दै यसको पनि विरोध गरे।

ओलीले संविधान संशोधन हुन्छ भन्ने डरले मधेश केन्द्रित दलहरू कांग्रेससँग मिलेको आरोप लगाए।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बरिष्ठ नेता कृष्णबहादुर महराले नैतिकताका आधारमा देउवा सरकारले राजीनामा दिनुपर्ने बताए।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस ५ वर्षका लागि ढुक्कसंग प्रतिपक्षमा बस्ने बताए।

त्यसअघि राजपा महासचिव मनिष सुमनले संविधान संशोधन हुनुपर्ने बताएका थिए।

कार्यक्रममा देशभरका ३ सय बढी सामुदायिक रेडियोको सहभागिता छ।

कार्यक्रमले देश संघीयतामा गएका बेला सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिकाका बारेमा नीति समेत बनाउनेछ।

Share Now

Leave a comment.