बामाको(माली), ३ भाद्र (बीबीसी) । पश्चिम अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गर्नुभएको छ ।
सैनिकहरूको कब्जामा परेपछि उहाँले त्यस्तो घोषणा गरेको सरकारी टेलिभिजनले जनाएको छ।
टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र संसद् पनि भङ्ग गरेको बताउनुभएको छ।
‘म आफूलाई शक्तिमा राखिरहन रगत नबगोस् भन्ने चाहन्छु’, उहाँले भन्नुभएको छ ।
उहाँको त्यस्तो घोषणा उहाँसहित प्रधानमन्त्री र अन्य सत्तारुढ नेताहरुलाई सैनिकहरूले गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगिएपछि आएको हो।
उक्त घटनाको क्षेत्रीय सङ्गठनसहित अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको छ।
यसअघि राष्ट्रपति इब्रहिम केयटालाई सैनिकले गिरफ्तार गरेको कुरा सरकारका एकजना प्रवक्ताले बीबीसीलाई बताउनुभएको थियो।
“भाइचारा संवाद” को निम्ति अपिल गरेपनि प्रधानमन्त्री बूबू सीशे पनि पक्राउ पर्नुभएको छ।

पक्राउ परेका राजनीतिक नेताहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको बताइएको छ। जहाँ मङ्गलवार बिहान गोली चलेको आवाज सुनिएको थियो।
कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका छन्।
सैनिक कु हो ?
राष्ट्रपतिसहित सत्तारुढ नेताहरुलाइ पक्रने सैनिकहरुलाई राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले खुसी प्रकट गर्दै स्वागत गरेका थिए।
त्यसपछि दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहीँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन्।
गिरफ्तार गरिएका अन्यमा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ।
सो घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराले गरेको ठानिएको बीबीसी संवाददाता अब्दुल बाले जनाउनुभएको छ।
कति सैनिक विद्रोहमा सहभागी छन् र उनीहरूको माग के हो भन्ने स्पष्ट भएको छैन।
केही समाचारहरूमा रकम भुक्तानी विवादले उक्त छाउनीमा विद्रोहको अवस्था सिर्जना गरेको उल्लेख छ।
बीबीसी संवाददाताहरूले उक्त घटना सैनिक कु नभएको देखिएको अधिकारीहरूलाई उद्धृत गर्दै जनाएका छन्। तर त्यो आठ वर्षअघिको घटनाको जस्तै परिदृश्य देखिएको छ।
घटनापछि र्याली प्रदर्शन र लुटपाट पनि भएको बताइएको छ।
राष्ट्रपति ‘अलोकप्रिय‘
राजधानीमा युवाहरूले सरकारी स्वामित्वको एउटा भवनमा आगो लगाइदिएका छन्।
माली बृहत् प्रदर्शनहरूका साथ महिनौँदेखि राजनीतिक भद्रगोलमा फसेको छ।

प्रदर्शनकारीहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटाको राजीनामा मागिरहेका थिए।
एकजना धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा पछिल्ला महिनाहरूमा भएका ठूला प्रदर्शनहरूमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो।
सैनिकहरूको समर्थनमा निकै सानो भिड मङ्गलवार राजधानीमा भेला भएको बताइएको छ।
केयटा दोस्रो कार्यकालको निम्ति सन् २०१८ को चुनावबाट निर्वाचित हुनुभएको थियो।
तर त्यहाँ भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, जिहादीका कारण बिग्रिँदै गएको सुरक्षा अवस्था र बढ्दो जातीय हिंसालाई लिएर व्यापक असन्तुष्टि छ।
प्रदर्शनकारीहरूले त्यसको दोष राष्ट्रपतिमाथि लगाउने गरेका छन्।
छाउनीमा फर्किन आग्रह
राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले घटनाको निन्दा गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनासर्त मुक्त गर्न आग्रह गर्नुभएको छ।
संवैधानिक व्यवस्था तत्काल पुनर्स्थापित गरिनुपर्ने उहाँको धारणा छ।
पश्चिम अफ्रिकाको क्षेत्रीय सङ्गठन इकोनोमिक कमिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (एकोवास), अफ्रिकी सङ्घ र फ्रान्सले पनि विद्रोहको निन्दा गर्दै सैनिकहरूलाई छाउनीमा फर्किन आग्रह गरेका छन्।

मङ्गलवार गोली चलेको आवाज सुनिएपछि सैनिकहरू सडकमा गस्तीमा निस्किएका थिए
एकोवासले मालीका सबै पक्षसँग महिनौँदेखि आफूले मध्यथताको अग्रसरता लिएको र गरिरहेका बेला विद्रोह भएको भन्दै विज्ञप्तिमार्फत् त्यस्तो आग्रह गरेको हो।
त्यस्तै अपिल फ्रान्सका विदेशमन्त्रीले पनि गर्नुभएको छ।
यसअघि बमाकोस्थित फ्रान्सेली राजदूतावासले ट्वीट गर्दै मानिसहरूलाई घरभित्रै रहन जोडदार रूपमा सल्लाह दिएको थियो।
इस्लामिक लडाकुसँग भिड्न फ्रान्सको सैनिकको उपस्थिति मालीमा पनि छ।



















