Prakash Adhikari August 19, 2020

 

काठमाडौं, ३ भाद् । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको र ६ सय ८१ नयाँ सङ्क्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १ सय २० पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८ हजार ९ सय ३८ पुगेको छ।

अहिले देशभरि ११ हजार १ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितहरूमध्ये ३ हजार १ सय ३१ जना घरमै र बाँकी ७ हजार ९ सय ८७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

मृतक कहाँका हुन ?

बुधवार दुई पुरुष र चार महिलाको निधन भएको छ।

मोरङ, भक्तपुर, सुनसरी र चितवनका एक एक महिलाको निधन भएको हो।

काठमाडौं र बर्दियाका एक-एक पुरुषको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ।

कोरोनाभाइरस ब्यानर

को हुन् सङ्क्रमित ?

सङ्क्रमितहरूमा काठमाडौंका १ सय ३४ जना, पर्सामा १ सय ८ जना, मोरङमा ६९ जना र रुपन्देहीमा ५२ जना रहेका छन्।

ललितपुरका १७ र भक्तपुरका आठ गरी बुधवार काठमाडौं उपत्यकामा १ सय ५९ जना सङ्क्रमित थपिएका छन्।

के छ अरू तथ्याङ्क ?

विगत २४ घण्टामा ११ हजार ५ सय २२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सोही अवधिमा १ सय २० जना भाइरसमुक्त प्रमाणित भए।

मन्त्रालयका अनुसार अहिलेसम्म १७ हजार ७ सय सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।

देशभरि क्वारेन्टाइनमा १३ हजार ५ सय ७१ जना छन्।

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

तर मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

Share Now

Leave a comment.