काठमाडौं, ९ भाद्र । धितोपत्रको केन्द्रीय निक्षेप र राफसाफ गर्ने उद्देश्यले स्थापित सीडीएस एण्ड क्लियरिड.(सीडीएससी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पूर्णप्रसाद आचार्य नियुक्त हुनुभएको छ।
सीडीएससी सञ्चालक समितिको सोमबार बसेको बैंठकले आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उहाँ यस पहिले कृषि विकास बैंकमा कार्यरत हुनुहुन्थ्यो ।
सीडीएससीमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पूर्ति गर्न गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
उक्त समितिले मंगलबार छोटो अर्थात संक्षिप्त सूचिमा परेका ६ जना उम्मेदवार मध्ये पूर्णप्रसाद आचार्य, भीष्मराज चालिसे र कृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।
कार्यपत्र प्रस्तुतीकरणका आधारमा छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
सीडीएससीको तत्कालीन सीईओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।
सीईओको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्न नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो।
नेपाल स्टक एक्सचेञ्जले आफ्नो सहायक कम्पनी सिडिएससीमा गत असार १६ गते सीईओको लागि आवेदन माग गरेको थियो ।


















