काठमाडौं, १६ भाद्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफूले राष्ट्रिय सभाका सांसद पाउनु पर्ने दावी गरेपछि पार्टीभित्रको शक्ति सन्तुलन खल्बलिने देखिएको छ । यसको पहिलो शिकार अर्थमन्त्री डा.युवराज खतिवडा हुनुहुने भएको छ ।
उपाध्यक्ष गौतमले सोमबार आफू राष्ट्रिय सभाको सदस्य बनेर, पार्टी, देश र जनताको सेवा गर्न लालयित रहेको सन्देश दिनुभएको छ ।
सत्तारुढ दल नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिंदै भन्नुभएको छ, मलाई राष्ट्रिय सभाको सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन नभएको ६ महिना बितिसक्यो, त्यो निर्णयबाट यताउता गर्न पाइन्न, निर्णय कार्यान्वयन हुनुपर्छ ।त्योभन्दा अर्को निर्णय भएको छैन ।
गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरिकन अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई संसद सदस्य नबनाईकन पुनःनियुक्ति गरिदिनुभयो । त्यसैले प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिबाट नियुक्ति हुने राष्ट्रिय सभाको एक सदस्यको सीट फागुन २१ देखि खाली रहेको छ ।
संघीय संसदको सदस्य नबनिकन अर्थमन्त्री बन्नुभएका डा. खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ। नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ।
वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यको उमेदवार बनाउने अर्को निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले वैशाख २० गतेको निर्णयले फागुन ६ गतेको निर्णयलाई खारेज गरेको दाबी गर्नुभएको छ
उहाँले आफ्नो भनाईलाई स्पष्ट पार्दै भन्नुभएको छ, “राष्ट्रियसभामा मैले जान्न भनेकै छैन । जान्न भनेको पहिल्यै हो, निर्णय भएपछि त कहाँ जान्न भनेको छु र ? भनेको छैन । पार्टीको निर्णय कार्यान्वयन हुन्छ, म जान्छु भनेको छु । बरु फागुनदेखि अहिलेसम्म कति भयो ? ६ महिना भइसक्यो । ६ महिनासम्म पार्टीको निर्णय लागू भएको छैन । पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ ।”
मलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन होस् : वामदेव गौतम
गत शनिवार प्राइम टेलिभिजनका ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा खतिवडाले नै निरन्तरता पाउनसक्ने संकेत गर्नुभएको थियो ।
डा. युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा निरन्तरता पाउनु हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले २–४ दिन हेरौं न । २० गते आउन लागिहाल्यो मात्रै भन्नुभएन, उहाँले अर्थमन्त्रीको कामसंग आफू पूर्णत सन्तुष्ट रहेको जवाफ दिनुभयो ।
धेरै ठाउँबाट उहाँको कार्यशैलीलाई लिएर असन्तुष्टिहरु बाहिर आइरहेका छन् नि ?’ भन्ने प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले ’सबैलाई सबैको कार्यशैली मन नपर्न सक्छ । कसको कसलाई के मन पर्दैन कसरी भन्न सकिन्छ र रु कसैलाई कसैको बोल्ने शैली मन पर्दैन, कसैलाई के मन पर्दैन । त्यो आफ्नो आफ्नो कुरा हो । कसैलाई बेस्सरी मनपर्छ । सत्य जे हो, त्यसअनुसार चल्नुपर्छ, म कसैले गरेको राम्रो वा नराम्रो कमेन्टको पछाडि चल्दिँन’ भनेर जवाफ दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा गरिएको निर्णयका बारेमा सोधिएको प्रश्नको जवाफ यसरी दिनुभएको थियो, ‘होइन, एकपटक गरेको थियो । उहाँलाई प्रतिनिधि सभाको चुनाव लडाउने भनेपछि त्यो निर्णय समाप्त भयो । उहाँ त्यसरी राष्ट्रिय सभामा नजाने भनेपछि त्यो निर्णय समाप्त भयो ।
अब अर्थमन्त्री परिवर्तन हुन्छ कि हुँदैन । सबैको ध्यान डा.युवराज खतिवडातिर छ । तपाईं पाँच वर्ष अर्थमन्त्री बनाउन चाहनुहुन्छ उहाँलाई ? सांसद पद सकिएपछि पनि करिब छ महिना अर्थमन्त्री बन्नुभयो । त्योभन्दा बढी उहाँलाई संविधानले अधिकार दिएको छैन,मन्त्री बन्नको लागि, फेरि पनि उहाँलाई तपाईं दोहोर्याउँदै हुनुहुन्छ, सांसद बनाउँदै हुनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू ?
– दुईचार दिन हेरौं न ! २० गते त आउन लागिहाल्यो । दुईचार दिन हेरौं । अहिले भविष्यवाणी (फोरकास्ट) गर्नु त्यति उचित हुँदैन ।
अर्थमन्त्री डा.युवराज खतिवडाले राम्रो काम गर्नुभएको छ ? उहाँसँग तपाईं सन्तुष्ट हुनुहुन्छ ?
– राम्रो काम गर्नुभएको छ ।
कार्यशैलीलाई लिएर असन्तुष्टिहरु पनि बाहिर आइरहेका छन् नि ?
– कार्यशैली त कसको कसलाई मन पर्छ कि पर्दैन ? यो कसरी भन्न सकिन्छ र ? धेरैले ऋषि धमलाको टेलिभिजनको कार्यक्रम संचालन ‘जनता जान्न चाहन्छन्’ संचालन गरेको मन पराउँछन् । केहीले मन पराउँदैन पनि । कसैलाई बोल्ने शैली मन पर्दैन । कसैलाई के मन पर्दैन, के शैली मन पर्दैन । त्यो त हरेकको आआफ्नो कुरा हो । मैले कमेन्टहरु हेर्छु, कसैलाई बेस्सरी मनपर्छ । कतिले पक्षमा लेखेका हुन्छन्, कतिले विपक्षमा पनि लेखेका हुन्छन् । तर सत्य जे हो, त्यसैअनुसार चल्नुपर्छ । कमेन्टका पछि लाग्ने होइन । म कमेन्टहरुका पछाडि चल्नेभन्दा सही कुरा के सही हो ? सत्य कुरा जे हो, तथ्य कुरा जे हो, त्यसैका आधारमा चल्छु ।
अहिलेको क्याबिनेटका मन्त्रीहरुले उपप्रधानमन्त्री इश्वर पोखरेलदेखि सबैले रामबहादुर थापा बादललगायत सबैले राम्रो काम गरेका छन् ? तपाईंको स्परिटलाई साथ दिएका छन् ? तपाईंको भिजनलाई सफल बनाउन लागेका छन् ?
– लागेका छन् ।
तपाईंको कुनै मन्त्रीप्रति असन्तुष्टि छैन ?
– छैन । तर, के हुन सक्छ भने मैले अघि नै भने मन्त्रिपरिषद्मा हेरफेर गर्ने भनेको यो एकदम स्थिरता र स्थायित्वसँग जोडिएको कुरा होइन । मन्त्रिपरिषद्मा हेरफेर भएर स्थायित्व र स्थिरतामा तलमाथि पर्ने कुरा होइन र हुँदैन । प्रधानमन्त्रीलाई आफूले यस पाँच वर्षको कार्यकालमा दिने परिणामहरु कसरी प्रभावकारी हुन सक्छन् ? काम कसरी प्रभावकारिताका साथ अगाडि बढ्छन् ? यस कुरालाई जाँच्ने हो । यदि मेरो नजरमा डा.युवराज खतिवडाभन्दा अर्को अर्थमन्त्रीले रााम्रो गर्ला कि त भन्ने अपेक्षा भयो भने उसलाई जिम्मा दिन पनि सकिन्छ । डा.युवराज खतिवडाबाट राम्रो हुन्छ भन्ने लागेमा त्यसो पनि हुन सक्छ । अथवा कहिलेकाहीँ राजनीतिमा विभिन्न कारणहरुले अर्थ राख्न पनि सक्छन् । त्यस्तो पनि हुनसक्छ । तर, यो मुख्य रुपमा प्रधानमन्त्रीले आपूmलाई आफ्नो कामलाई सफल बनाउनको निम्ति मन्त्रिपरिषद्को हिसाबमा त्यसको अरु पक्ष के छ ? तिनीहरु सबै पक्ष केलाएर कसो गर्दा उपयुक्त हुन्छ ? समग्रतामा निष्कर्ष के निस्किन्छ ? परिणाम के आउँछ ? त्यसलाई हेरेर निष्कर्ष निकाल्ने हो । टुंगो गर्ने हो र अगाडि बढ्ने हो ।
वामदेव गौतमलाई तपाईले विशेष जिम्मेवारी दिदै हुनुहुन्छ भनेर नेपाली राजनीतिमा चर्चा, परिचर्चा र बहस सुरु भएको छ सम्माननीय प्रधानमन्त्रीज्यू । तपाईँ राम्रोसँग अध्ययन गरेको, बुझेको राजनेता हो । उहाँले कुनै जिम्मेवारी पाउँदै हुनुहुन्छ ? राष्ट्रिय सभामा लिएर जादैँ हुनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू ? त्यो समभावना छ ?
– यस्तो कुनै निर्णय पार्टीको छैन ।
सचिवालयको बैठकले त वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय त गरेको हो नि सम्माननीय प्रधानमन्त्रीज्यू ?
– होइन, एकपटक गरेको थियो । उहाँलाई प्रतिनिधि सभाको चुनाव लडाउने भनेपछि त्यो निर्णय समाप्त भयो । उहाँ त्यसरी राष्ट्रिय सभामा नजाने भनेपछि त्यो निर्णय समाप्त भयो ।
पार्टीका उपाध्यक्ष गौतमले भने प्रतिनिधिसभाको निर्वाचनमा जाने भन्ने निर्णय पार्टीभित्र तत्काल देखिएको संकट टार्नका लागि दुई अध्यक्षहरुको सहमतिमा निकालिएको रणनीतिक कदमको रुपमा व्याख्या गर्दै भन्नुभएको छ, त्यो प्रधानमन्त्री कामरेड केपी ओलीले बैशाख १७ गते वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव गर्छु भनेर प्रस्ताव गर्नुभो । अनि २० गते उहाँहरु दुईटा अध्यक्ष मिलेर आउनुभयो र यो (राष्ट्रियसभामा लैजाने) प्रस्ताव अहिले कार्यान्वयन नगर्ने भन्नुभो र मेलमिलाप गरेर जाने भन्नुभो । त्यस्तो बेलामा प्रधानमन्त्रीको त्यो प्रस्तावलाई सेफल्याण्डिङ गर्नका निम्ति भनिएको कुरा हो त्यो । मलाई फेरि प्रतिनिधिसभामा लैजाने भन्ने निर्णय हैन त्यो । उपयुक्त समय भनेर कहाँ हुन्छ र त्यो ।
नेता गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने पहिलेको निर्णय कार्यान्वयन गरिनु पर्ने र राष्ट्रियसभामा नलैजाने भन्ने अर्को औपचारिक निर्णयले नकाटेसम्म पहिलेको निर्णय जीवित नै रहेको मान्नुपर्ने तर्क गर्नुभएको छ ।
उहाँले आफूले राष्ट्रियसभामा जान्न भनेर कहिल्यै नभनेको बताउदै भन्नुभएको छ, “त्यो पार्टीको तर्फबाट यताउता हुनै सक्दैन, पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ ।”
डा. युवराज खतिवडाको कार्यकाल फागुन २१ गते सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा गत फागुन महिनामा पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेको थियो ।
नेकपा उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने ३ जना सदस्यको बारेमा संसदीय व्यवस्थाको चर्चा गर्दै भन्नुभएको छ, “त्यो प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो भने भनेजस्तो बुझियो, त्यो चाहिँ गलत हो । नेकपा उपाध्यक्ष गौतमले आफू निकट नेता तथा कार्यकर्ताहरुलाई संसदीय परम्पराको चर्चा गर्दै प्रधानमन्त्रीले पार्टीको सल्लाह र सहमतिमा चल्ने र उहाँको तर्फबाट गरिने नियुक्ति देखि सिफारिस पार्टीको इच्छाविरुद्ध हुन नसक्ने दावी गर्दै आउनुभएको छ । दलीय व्यवस्थामा प्रधानमन्त्री र मन्त्रीहरू दलको अधिनस्थ हुने रप्रधानमन्त्री दलकै नेता हुने तर्क दिंदै उहाँले भन्नुभएको छ, पार्टी निर्णय कार्यान्वयन हुनपर्छ म त्यसको लागि तयार छु ।”
।
पहिलो शिकार अर्थमन्त्री डा.खतिवडा
पार्टीका उपाध्यक्ष गौतमको महत्वाकांक्ष चुलिएर आएपछि त्यसको पहिलो शिकार अर्थमन्त्री डा. युवराज खतिवडा नै हुनुहुने स्पष्ट छ । प्रधानमन्त्री ओलीको गत बैशाखदेखि चलेको सत्तासंकट निवारणमा उपाध्यक्ष गौतमले ठूलो गुन लगाउनुभएको छ । झण्डै झण्डै प्रधानमन्त्रीबाट निष्काशित हुने अवस्थामा पुग्नुभएका प्रधानमन्त्री ओलीको सत्ता बामदेव गौतमले उहाँलाई काँध थाप्नासाथ जोगिएको थियो । यसैले राष्ट्रिय सभाको सदस्यमा वामदेवले इच्छा राख्नासाथ डा. खतिवडा पछाडि सर्नुपर्ने हुन्छ ।
पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा रहनुभएका गौतमको इच्छामा ठेस पुर्याउनासाथ नेकपाभित्रको कुनैपनि बेला बिग्रन सक्ने र त्यसको चर्को मूल्य आफूले चुकाउन पर्ने कुराको ज्ञान प्रधानमन्त्री ओलीलाई भएकोले वामदेवको राष्ट्रिय सभा यात्राको पहिलो मूल्य अर्थमन्त्री डा. खतिवडाले चुक्ता गर्नुपर्ने भएको छ ।
मन्त्रिपरिषद्मा फेरबदल
वामदेव गौतम राष्ट्रिय सभामा जानुको अर्थ राष्ट्रिय सभाको सदस्यको रुपमा मात्र सीमित रहन होइन भन्ने पनि सबैले बुझेका छन् । प्रतिनिधि सभाको सदस्य बनेर प्रधानमन्त्री हुने आफ्नो सपनामा पार्टीभित्रबाट धेरै ब्यवधान आएको देख्नुभएका गौतमले अढाईबर्ष सो महत्वाकांक्षालाई थाती राखी त्यसलाई पूरा गर्ने सहायक भूमिकामा आफूलाई सीमित गर्न चाहनु भएको छ ।
उहाँले आफू निकटस्थ कार्यकर्तालाई प्रधानमन्त्रीको गिर्दो स्वास्थ्य अवस्थाका कारण प्रतिनिधिसभामा जाने निर्णय गरिएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्य सुध्रदै गएको र तत्काल प्रतिनिधिसभामा जाने अवस्था नरहनुको साथे कोरोना भाइरसको प्रकोपको कारणले चुनाव गर्ने अवस्था समेत नरहेकोले राष्ट्रिय सभामा रहेर सरकारमा प्रवेश गरी देश र जनताको सेवा गर्न नै उपयुक्त हुने निर्णयमा आफू पुगेको बताउनु भएको छ ।
पूर्व उपप्रधानन्त्री तथा गृहमन्त्री रहनुभएका उपाध्यक्ष गौतमको ध्यान गृह मन्त्रीमा रहेको देखिन्छ । उहाँले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दावी गर्नुभयो भने गृहमन्त्रालयबाट रामबहादुर बादल विस्थापित हुनुहुनेछ । पार्टीभित्रको सन्तुलन मिलाउनका लागि पूर्व नेकपा एमालेबाट दुईजना उपप्रधानमन्त्री रहन संभव छैन । त्यसैले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलेका पद पनि घरापमा पर्ने देखिन्छ । रामबहादुर थापालाई प्रचण्ड र ओली दुवैको आर्शिवाद रहेमा उहाँ रक्षामा पुग्न सक्ने अवस्था हुन्छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत दौरा सुरुवालमा आइरन लगाएर बसिरहेको हुनाले वादलको निरन्तरतामा प्रश्न उठन सक्छ । प्रचण्डको कोटाबाट गएर ओलीको काखीमा बस्नुभएका आपूर्तिमन्त्री लेखराज भट्टको कुर्सी पनि संभावित पुनर्गठनमा धरापमा पर्ने देखिएको छ ।
अर्थमन्त्रीमा डा. खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्री ओलीको चाहना विरुद्ध राष्ट्रिय सभाका लागि बामदेव तयार भएपछि डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त हुने संभावना देखिन्छ । संकटग्रस्त नेपालको अर्थतन्त्रका लागि विदेशी सहयोग जुटाउन डा. खतिवडाको अनुहार प्रधानमन्त्री ओलीका लागि अत्यावश्यक जस्तै हुन आउछ । एमसीसी पारित गर्नका लागि पार्टीमा उहाँको भूमिका महत्वपूर्ण हुने देखिन्छ । त्यसैले पनि उहाँलाई अमेरिकाको भावि राजदूतको रुपमा हेरिएको हो ।
विश्व बैंक,अन्तर्राष्ट्रिय मुद्रा कोष सहित अधिकांश दातृ संस्थाहरु र भारत,अमेरिका तथा अधिकांश दातृ मुलुकहरुले पत्याएका अर्थमन्त्री डा.खतिवडाको स्थानमा प्रधानमन्त्री ओलीले कसलाई चयन गर्नुहुन्छ त्यो प्रतिक्षाका विषय भएको छ । एकल निर्णयका आधारमा सरकार चलाउदा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद जोखिममा परेको ताजा अनुभव गर्नुभएका प्रधानमन्त्री ओलीले पार्टीकै निर्णयका आधारमा संभवत सचिवालयले प्रस्ताव गरे अनुरुपकै व्यक्तिलाई सो जिम्मेवारी दिन सक्ने बताइन्छ ।
यो दौडमा सबैभन्दा अगाडि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ । पार्टीको महासचिवको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेको,पार्टीभित्र एक व्यक्ति एक महत्वपूर्ण जिम्मेवारीको कुरा उठेको र आगामी चैत्रमहिनाभित्रै पार्टी महाधिवेशन गर्ने तयारी रहेकोले कार्यकर्ताहरुको दबाब रहेपनि पार्टी महासचिव विष्णु पौडेल भने यो दौडमा सामेल नरहनुभएको बताइन्छ ।



















