Prakash Adhikari January 27, 2018

रियाद(साउदी अरेबिया),१३ माघ (बीबीसी) । साउदी अरबियामा गत नोभेम्बर महिनामा भ्रष्टाचारविरोधी कारबाहीको क्रममा पक्राउ गरिएका शक्तिशाली व्यक्तिहरू थुनामुक्त भएका खबर प्राप्त भएका छन्।

भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा अर्बपति राजकुमार अलवालीद बिन तलाल रहेका छन्।

उनी राजधानी रियादको एक सुविधासम्पन्न होटेलमा थुनामा राखिएका थिए।

एक साउदी अधिकारीका अनुसार रकम तिर्ने विषयमा अभियोजनकर्तासँग एक सहमति भएपछि राजकुमार अलवालीद छुटेका हुन्।

पारिवारिक सूत्रहरूले रोएटर्स समाचार संस्थालाई बताएअनुसार राजकुमार अलवालीद मुक्त गरिएका छन्।

‘अभियोग’

थुनामुक्त भएपछि रोएटर्ससँग कुरा गर्दै उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै भ्रष्टाचारविरोधी कारबाही थालेका युवराज मोहमद बिन सलमानको कदमलाई आफूले समर्थन गर्ने बताए।

छुट्नु अघि रोएटर्स समाचार संस्थासँग कुरा गर्दै राजकुमार अलवालीदले भने, “कुनै मुद्दा लगाइएको छैन। हामीले सरकारसँग केही विषयमा छलफल गरेका छौं। हाम्रो काम सफा छ। ढुक्क हुनुहोस् कि अब हामी कथाको अन्त्यतिर आइपुगेका छौं।”

राजकुमार अलवालीद साउदी अरेबियाका सबैभन्दा धनाढ्य व्यक्तिहरू मध्येका एक हुन्।

युवराज मोहमदले आफ्नो शक्ति सुदृढ तुल्याउन र विपक्षीलाई चुप लगाउन त्यो कारबाही गरेको आरोप लगाइएको छ।

अहिले थुनामुक्त हुनेहरूमा मध्यपूर्वको चर्चित एमबीसी टेलिभिजन नेटवर्कका प्रमुख वालीद अल-इब्राहिम र शाही अदालतका पूर्व प्रमुख खालिद अल-तुवाइजिरि रहेका छन्।

थुनामुक्त हुनका लागि उनीहरूले मोटो रकम तिरेको समाचारहरूमा जनाइएको छ। तर उनीहरूले कति रकम तिरे त्यो खुलाइएको छैन।

कारबाही

नोभेम्बरमा गरिएको भ्रष्टाचारविरुद्धको कारबाहीको क्रममा राजकुमार, राजनीतिज्ञ, धनाड्य व्यापारीहरूसहित २०० भन्दा बढी शक्तिशाली व्यक्तिहरूलाई हिरासतमा लिइएको थियो।

उनीहरूलाई रियादको रिट्ज् कार्ल्टन होटलमा थुनिएको थियो। त्यो होटल आउने फेब्रुअरी १४ देखि फेरी खुल्ने बताइएको छ।

नोभेम्बरमा थुनामुक्त भएका राजकुमार मितेब बिन अब्दुल्लाहले एक अर्ब डलर तिरेको बताइएको छ।

त्यसरी रकम नबुझाउनेहरूविरुद्ध कानूनी कारबाहीको प्रक्रिया थालिने बताइएको छ।

भ्रष्टाचारविरुद्ध कारबाही सुरु भएलगत्तै साउदी अरेबियाका महान्यायाधिवक्ताले लामो समयको अन्तरालमा १०० अर्ब डलर भन्दा बढी रकम बराबरको संगठित भ्रष्टाचार भएको बताएका थिए।

Share Now

Leave a comment.