काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपां)का उपाध्यक्ष वामदेव गौतमको सांसद बन्ने मुराद पूरा भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार दिउँसो राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको नेकपा उपाध्यक्ष गौतमलाई अपरान्ह ४ बजे राष्ट्रिय सभाको सदस्यको सपथ ग्रहण गराइएको थियो ।
उहाँलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित कृषि समितिको हलमा शपथ गराउनुभएको हो।
शपथ लिएपछि सञ्चारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै सांसद गौतमले राष्ट्रियसभाको गरिमा बढाउने कार्यमा आफू सक्रिय रहने बताउनुभएको थियो ।
उहाँले आफूलाई राष्ट्रियसभा सदस्य बनाउन पहल गर्ने पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गर्दै आफूले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएके छ।
बिहिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको थियो।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकले राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
गौतमलाई नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा राष्ट्रपतिबाट मनोनित गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ।
राष्ट्रपतिको कोटाबाट मनोनित गरी पूरा गरिने सो पद राष्ट्रपतिले मनोनित गर्नुभएका सांसद तथा तात्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको २ बर्षे कार्यकाल समाप्त भएसंगै माघ २१ देखि खाली थियो । राष्ट्रिय सभाका प्रत्येक एक तिहाई सदस्यको कार्यकाल २ बर्षको अन्तरालमा समाप्त हुने संवैधानिक व्यवस्था अनुसार पहिलो पटक गठित राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल निर्धारण गर्न गरिएको गोला प्रथामा डा. खतिबडाको कार्यकाल २ बर्ष परेको थियो ।
पार्टीले सो रिक्त पदमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेपछि प्रधानमन्त्री ओली डा. खतिवडालाई नै निरन्तरता दिन लालयित भएकोले उहाँले डा. खतिवडालाई संसदबाहिरबाट अर्थमन्त्री नियुक्ति गरी ६ महिना अनुकूल वातावरण हेर्नुभएको थियो ।
गत बैशाखमा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाको सदस्य बनाउने निर्णय गराएर उहाँले आफ्नो मार्ग सफा गर्न खोज्नुभएको पनि हो तर पार्टीभित्र उहाँको विरोधमा सरकार र पार्टी दुवैको नेतृत्व त्याग गर्नुपर्ने माग चर्को रुपमा उठेपछि उहाँ आफ्नो कुर्सी जोगाउन लाग्नु पर्यो ।
संकटमा परेको उहाँको सत्तालाई उपाध्यक्ष गौतमले काँध थापेर जोगाईदिएपछि प्रधानमन्त्रीले गौतमको इच्छाविरुद्ध जान सक्ने अवस्था रहेन र डा.खतिवडाले भाद्र १९ गते पदबाट राजिनामा दिनुभयो ।
डा. खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरी उहाँको व्यवस्थापन गरेपछि मात्रै उहाँलाई राष्ट्रपतिले मनोनित गरी आजै सपथ सम्पन्न गरिएको छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट प्रत्यासी बन्नुभएका गौतम नेपाली कांग्रेसका सञ्जय गौतमसग पराजित हुनुभएको थियो ।


















