कठमाडौं, १४ माघ । नेपाल पर्वतारोहण संघको आयोजनामा भएको पाँचौ पार्क योङ सियोक खुला क्लाइम्बिङ प्रतियोगितामा पुरुषतर्फ पेम्बा शेर्पा र महिलातर्फ पञ्चमाया तामाङ च्याम्पियन बनेका छन् ।
यही माघ १३ र १४ गते पासाङ् ल्हामु पर्वतारोहण प्रतिष्ठान धुम्बराहीस्थित क्लाइम्बिङ बालमा भएको प्रतियोगितामा पुरुषतर्फ कुमार गौरव र डभिड स्मिथ द्धितीय र तृतीय भएका थिए भने महिलातर्फ स्वस्तिका चौधरी र फिन्जो लामा द्धितीय र तृतीय भएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र पार्क योङ सिक एक्सप्लोरेसन एण्ड कल्चर फाउण्डेशनका अध्यक्ष डा. इन्जियोङ लिले नगद पुरस्कार प्रमाण पत्र र खादा ओढाएर सम्मानित गरेका थिए ।
प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेले क्रमश ५० हजार, ३०हजार र २० हजार नगद रुपैया प्राप्त गरेका थिए ।
कुल २८ जना प्रतियोगीको सहभागिता भएको प्रतिस्पर्धामा पुरुष तर्फ २१ र महिलातर्फ ७ जना प्रतियोगी थिए ।
यो प्रतियोगिता नेपाल पर्वतारोहण संघले पार्क योङ सिक एक्स्प्लोरेशन एण्ड कल्चर फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले बर्षेनी गर्दै आइरहेको छ ।
नेपालको सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर उचाई माथिका हिमालको सफल आरोहण गरेका कोरियाका प्रख्यात पर्वतारोही पार्क अन्नपूर्ण आरोहणका क्रममा निधन भएको थियो ।
पार्क योङको संझनामा नेपाल पर्वतारोहण संघको ककनी पर्वतारोही स्मारक पार्कमा स्मारक पनि बनाइएको छ ।
कार्यक्रममा सहभागी बन्न पार्ककी श्रीमति र आफन्त सहित फाउण्डेशनका पदाधिकारीहरु नेपाल आएका थिए ।