काठमाडौं, २० असोज । नेपालमा कोरोना संक्रमितको संख्या चीनको भन्दा बढी पुगेको छ ।
जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार मङ्गलवार अपरान्हसम्म चीनमा सङ्क्रमितको कुल सङ्ख्या ९० हजार ६ सय ६० थियो।नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९० हजार ८ सय नाघेको छ।
यससँगै नेपालले सङ्क्रमितको कुल सङ्ख्यामा चीनलाई उछिन्दै अतिप्रभावित देशको सूचीमा ४४औँ स्थानमा पुगेको छ।
नेपालमा मंगलबार अपरान्हसम्म वितेको २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको सख्याले चीनलाई उछिनेको हो ।
,
नयाँ संक्रमित मध्ये १ हजार १७ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।

विगत २४ घण्टामा ८ जनाको कोभिड१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा अहिलेसम्म ५ सय ६३ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
निको हुने सङ्क्रमितको सङ्ख्या ६७ हजार ५ सय नाघेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २ हजार ३ सय ४० जना रोगमुक्त भएका छन्।
गत भदौ २४ देखि प्रत्येक दिन एक हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।
सोमबार मन्त्रालयले २ हजार ४ सय ४० सङ्क्रमित फेला परेको र १९ जनाको मृत्यु भएको बताएको थियो।
गत शुक्रवार मन्त्रालयले २ हजार ७ सय जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। त्यसयता सोमवारसम्म प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो।
अहिले देशभरि २२ हजार ७ सय ९ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये १३ हजार ५ सय ९१ जना घरमै र ९ हजार १ सय १८ जना संस्थागत आइसोलेशनमा छन्।
वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ।
विगत २४ घण्टामा ११ हजार ४७ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।
अहिलेसम्म नेपालमा ६७ हजार ५ सय ४२ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७४.३ प्रतिशत हो।
गम्भीर लक्षण भएका २ सय ४३ सङ्क्रमित सघन उपचारमा र ४० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
को हुन् सङ्क्रमित ?
दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्यामा काठमाडौं उपत्यकाका मानिस धेरै देखिने क्रम जारी छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा सङ्क्रमण पुष्टि भयो।
त्यसैगरी चितवनमा ८१, दाङमा ३४, बाँकेमा ३४ र रूपन्देहीमा ९६ सङ्क्रमित फेला परे।
को हुन् मृतक ?
मृतकमध्ये चार महिला र पाँच पुरुष छन्।
उनीहरू तेह्रथुम, सुनसरी, काठमाडौं, ललितपुर, चितवन र नवलपरासी पूर्वका हुन्।
उनीहरूको उमेर ३१ देखि ७७ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।
नेपालमा सङ्क्रमितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको देखिन्छ।


















