दुबाई(संयुक्त अरब इमिरेट्स), २३ असोज । भारतको चर्चित क्रिकेट लिग मानिएको इण्डियन प्रिमियर लिग २०२० अन्तरगत बिहिबार भएको २२ औं खेलमा किंग्स् ११ पञ्जाबलाई ६९ रनको विशाल अन्तरले पराजित गर्दै सनराइजर्स हैदरावादले तेश्रो जित दर्ता गरेको छ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिंग गर्दै हैदरावादले दिएको २ सय २ रनको लक्ष्य पञ्जाबले निर्धारित २० ओभरमा पूरा गर्न सकेन । उसले १६.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ३२ रन बनाएर खेलको अन्त्य गर्यो।
पञ्जाबको लागि निकोलस पुरनले ३७ बलमा ५ चौका र ७ छक्काको मद्दतले सर्वाधिक ७७ रन बनाए। केएल राहुल र प्रभासिमरन सिंहले समान ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। खेलमा मायाक अग्रवालले ९, ग्लेन म्याक्सवेलले ७,मन्दीप सिंह र रभि विस्नोइले ६।६, मुजिबर रहमानले १ बनाए भने मोहम्मद सामी, एस कोर्टेज र अर्शदीपले कुनै रन जोड्न सकेनन ।
पञ्जाबलाई रोक्ने क्रममा हैदरावादका राशिद खानले सर्वाधिक ३ खलिल एहमद र टि नटराजनले समान २ विकेट तथा अभिषेक शर्माले १ विकेट लिएका थिए।
हैदरावादको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग गर्दै हैदरावादले ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो।
हैदरावादको लागि ओपनर जोनी बेयरस्टोले ५५ बलमा ७ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ९७ रन बनाए । यस्तै डेभिड वार्नरले ४० बलमा ५ चौका र १ छक्काको मद्दतले ५२ रन बनाए । खेलमा के एस विलियम्सनले २० अभिशेख शर्माले १२ अब्दुल समादले ८ र मनिष पाण्डेले १ रन बनाएका थिए ।
पन्जाबको बलिंगमा लेग स्पिनर रभी बिस्नोइले सर्वाधिक ३ , अर्शदिप सिंहले २ तथा मोहम्मद शामीले १ विकेट लिंए ।
अंकतालिका
छैठौं खेलमा तेश्रो जित पछि हैदरावाद अंकतालिकामा छैठौं स्थानबाट फड्को मार्दै तेश्रो स्थानमा पुगेको छ। ६ अंक बटुलेको हैदरावादले नेट रन रेटमा कोलकाता र बैंगलोरलाई पछि पारेको हो।अंक तालिकामा मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेका छन्।
हार पछि पञ्जाब भने ६ खेलमा १ जित र ५ हार पछि २ अंक सहित अंकतालिकाको पुछारमा रहेको छ। ४ अंक रहेको चेन्नाई र राजस्थान छैठौं र सातौँ स्थानमा रहेका छन्।
पञ्जाबले आगामी खेल शनिवार कोलकाताबिरुद्ध तथा हैदरावादले आइतबार राजस्थानबिरुद्ध खेल्ने तालिका रहेको छ। लिग अन्तर्गत शुक्रबारको खेलमा राजस्थान रोयल्स र दिल्लीबीच क्यापिटल्स प्रतिस्पर्धा हुँदैछ।


















