काठमाडौं, १५ माघ । नेपालको जलविद्युत्को बजार छैन र व्यापार गर्न सकिदैन भन्दै नीति निर्माणमा रहेकाले आयोजना निर्माणमा चासो नदेखाइरहेको बेला बंगलादेशले तत्कालका लागि २ हजार मेगावाट विद्युत् खरिद गर्ने इच्छा व्यक्त गरेको छ ।
नेपालमा निर्माण हुने आयोजनामा संयुक्त वा एकल लगानी मार्फत सहकार्य गर्न तयार रहेको समेत बंगलादेशले नेपाली अधिकारीसँग कुराकानीको क्रममा बताएका छन् ।
प्राकृतिक ग्यास तथा कोइलाबाट उत्पादित विद्युत्ले वातावरणीय रुपमा खराब अवस्था सिर्जना गरेको भन्दै हरित ऊर्जाको स्रोतको रुपमा रहेका जलविद्युत् प्रयोग नै आफूहरुका लागि उत्तम विकल्प भएको बंगलादेशको भनाइ छ ।
तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले बंगलादेशी समकक्षीसँगको भेटमा नेपालको जलविद्युत्मा लगानी गर्न आग्रह गरेका थिए ।
दुई देशबीच संयुक्त रुपमा आयोजना बढाउने विषयमा सहकार्य गरेर जाने विषययमा प्रारम्भिक छलफल भएपनि प्रक्रिया अगाडि बढ्न नसकिरहेको बेला पछिल्लो पटक नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते शाम्सले नेपालको जलविद्युत्मा लगानी गर्न आफ्नो मुलुक तयार रहेको बताएकी हुन् ।
वातावरणीय प्रदुषण घटाउनका लागि पनि हामीलाई हरित ऊर्जाको आवश्यकता छ, त्यसको लागि नेपालको विद्युत् नै हाम्रा लागि उत्तम विकल्प हो– उनले भनिन् ।
। नेपालका लागि बंगलादेशी राजदूत शाम्सले आफ्नो देशले नेपालको जलविद्युत्मा लगानी गर्दै तत्काल २ हजार मेगावाट र पछि क्रमशः ४ हजार मेगावाटसम्म आयात गर्न चाहेको बताइन् ।
नेपालमा जारी पावर इन्भेस्टमेन्ट समिटका क्रममा आफ्नो धारणा राख्दै उनले नेपालमा सहज रुपमा जलविद्युत् क्षेत्रमा काम हुन थालेकोमा खुसी समेत व्यक्त गरिन् ।
उनले हाल भुटानबाट पनि विद्युत् खरिद गरिरहेको जानकारी दिँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)ले पारित गरेको संयुक्त प्रसारण लाइन निर्माण कार्ययोजनालाई अगाडि बढाएर एक अर्काको प्रसारण लाइन जडान गर्न सके फाइदा हुने विश्वास व्यक्त गरिन् ।
बंगलादेश नेपाल तथा भारत दुवै देशबाट विद्युत् किन्न चाहेको स्पष्ट पार्दै सार्क ग्रीडलाई कार्यान्वयनमा ल्याउने हो भने सहज हुने उनको धारणा छ ।
बंगलादेशको जडित क्षमता १६ हजार मेगावाट
दक्षिण एसियामा पहिलो पटक विद्युत् उत्पादन नेपालमा भएपनि नेपालको कुल जडित क्षमता एक हजार मेगावाट मात्रै रहेको सन्दर्भमा बंगलादेशको हाल जडित क्षमता मात्रै १६ हजार मेगावाट रहेको छ ।
सो मुलुकले सन् २०३० सम्म ३४ हजार मेगावाट कुल जडित क्षमता पुर्याउने लक्ष्य राखेको छ । बंगलादेशमा विद्युत्को माग चर्को रुपमा बढ्दै गएको छ । प्रत्येक वर्ष ५०० देखि एक हजार मेगावाटसम्मको माग बढ्ने गरेको छ ।
बंगलादेशी राजदूतकाअनुसार भुटानबाट करिब ४०० मेगावाट विद्युत् खरिद गरिरहेको बंगलादेशले भारतबाट मात्रै ६५० मेगावाट विद्युत् खरिद गरिरहेको छ ।
मुख्य समस्या प्रसारण लाइन
बंगलादेशले नेपालको विद्युत् खरिद गर्न चाहेपनि मुख्य समसया भने प्रसारण लाइनको रहेको छ । नेपालबाट उत्पादित विद्युत् सो देश पुर्याउनका लागि भारतले बाटो दिनुपर्छ । नेपाल, भारत र बंगलादेश जोड्ने फूलबारी बंगलाबन्ध मार्ग सञ्चालन त सहज नभइरहेको बेला भारतले तत्काल नै प्रसारण लाइन प्रयोग गर्न दिन्छ भन्नेमा कुनै विश्वास गरिहाल्ने अवस्था रहेको छैन ।
भारतले सहज रुपमा प्रसारण लाइन दिएको खण्डमा भने नेपालको विद्युत् सहजै रुपमा बंगलादेशको प्रसारण लाइनमा जोडिन सक्छ । नेपालले पूर्व पश्चिम ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेकाले भारतको सीमासम्म पुगन खासै समस्या रहेकोे छैन ।
भारतबाट विद्युत् किनिरहेकाले नेपालबाट ल्याउन पनि भारतले सहयोग गर्ने बंगलादेशी राजदूतको विश्वास छ ।
विद्युत् ब्यापारबारे नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय समझदारी जरुरी रहेको समेत उनले उल्लेख गरिन् ।
विद्युत् व्यापार तथा आदानप्रदान गर्न कानुनी र नियामक निकाय आवश्यक पर्ने उनको भनाइ छ ।
यी आयोजना छ बंगलादेशको चासो
बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ६ सय मेगावाट र माथिल्लो मरस्याङ्दी–२ बाट उत्पादित विद्युत्बाट ५ सय मेगावाट किन्न सक्ने बताएको छ । यस्तै अरु केही आयोजनामा नेपाली र बंगलादेशी व्यापारीको संयुक्त लगानी वा सरकार–सरकारबीचको संयुक्त लगानीमा पनि आयोजना निर्माण गर्न सकिने जनाउँदै आएको छ ।
बंगलादेशले पठाएको प्रस्तावका बारेमा हालसम्म ऊर्जा मन्त्रालयले कुनै निर्णय गरेको छैन । ऊर्जा मन्त्री स्तरीय संयुक्त संयन्त्र बनाउने प्रस्ताव पनि अगाडि बढ्न सकेको छैन । बंगलादेशको चासोलाई सम्बोधन गर्दै नेपालको जलस्रोतमा लगानी भित्र्याउन ढिला गर्न नहुनेमा बंगलादेशी राजदूतको चासो रहेको छ ।