आबुधाबी(संयुक्त अरब इमिरेट्स), ३० असोज । भारतको चर्चित क्रिकेट लिग मानिएको इण्डियन प्रिमियर लिग(आईपीएल) को २०२०को संस्करण अन्तरगत शुक्रबार भएका खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ।
शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा कोलकाताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले मात्र २ विकेट गुमाएर १६.५ ओभरमा पूरा गर्यो।
मुम्बईको लागि ओपनर क्विन्टन डी ककले अविजित ७८ रन बनाए भने रोहित शर्माले ३५ रन । खेलमा हार्दिक पान्ड्याले अविजित २१ रन र सुर्यकुमार यादबले १० रन बनाएका थिए।
मुम्बईलाई रोक्ने क्रममा कोलकाताक वरुण चक्रवर्ती र शिभम् माभीले समान एक एक विकेट लिए।
कोलकाताको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो।
कोलकाताको लागि प्याट कमिन्सले सर्वाधिक ५३, नवनियुक्त कप्तान ओएन मोर्गनले ३९, शुबमन गिल २१ , आन्द्रे रसेल १२ , राहुल त्रिपाठी ७, नितिश राना ५ र दिनेश कार्तिकले ४ रन जोडेका थिए।
कोलकोतालाई रोक्ने क्रममा मुम्बईका राहुल चाहरले २ तथा जस्प्रित बुम्राह , ट्रेन्ट बोल्ट र नाथन कौल्टर नाइलले समान एकएक विकेट लिए।
अंकतालिका

शुक्रबारको जितपछि मुम्बई पुनः अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली र मुम्बईको समान ८ खेलमा ६ जित र २ हार पछि समान १२ अंक रहेता पनि नेट रन रेटमा मुम्बई अघि रहेको छ। १० अंक सहित बैंगलोर तेश्रो स्थानमा छ।
हारपछि कोलकाता ८ खेलमा ४ जित र ४ हार बेहोर्दै ८ अंकसहित चौथो स्थानमा रहेको छ। हैदरावाद, चेन्नाई र राजस्थानको समान ६ अंक रहे पनि नेट रन रेटको आधारमा उनीहरुको स्थान क्रमशः पाचौ, छैठौं र सातौँ रहेको छ । हालसम्म दुई खेलमात्र जितेको पञ्जाब ४ अंकसहित पुछारमा रहेको छ।
लिग अन्तर्गत मुम्बईले आगामी खेल पञ्जाब बिरुद्ध आइतबार खेल्नेछ। यस्तै कोलकाताले पनि आइतबार हैदरावादसंग प्रतिस्पर्धा गर्नेछ।
शनिवार २ खेल हुँदैछन्। ३ : ४५ बजे बेलुका दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राजस्थान र बैंगलोर तथा ७ : ४५ बजे राति शारजाहमा चेन्नाई र दिल्लीले प्रतिस्पर्धा गर्नेछन्। दिल्लीले चेन्नाईलाई पराजित गरे पुनः अंकतालिकामा शीर्ष स्थानमा उक्लनेछ। चेन्नाई जितेको खण्डमा चौथो स्थानमा उक्लने सम्भावना रहेको छ।


















