Prakash Adhikari October 19, 2020

 

दुबाई(संयुक्त अरब इमिरेट्स), २ कार्तिक । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करण अन्तर्गत आइतबार राति सम्पन्न दोश्रो तथा लिगको ३६ औं खेलमा किंग्स् ११ पञ्जाबले दोश्रो सुपर ओभरमा मुम्बईलाई पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। रोचक प्रतिस्पर्धामा भएको यो जितले पञ्जाबले पनि शी र्ष( चारमा प्रवेश गर्ने सम्भावना जीवितै राखेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले पनि २० ओभरको निर्धारित नियमित खेलमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पञ्जाबले पहिले ब्याटिंग गर्दै ५ रन बनाएको थियो। ६ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले पनि ५ रन मात्र बनाएपछि खेल दोश्रो सुपर ओभरमा पुगेको थियो।

Image

दोश्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पञ्जाबले ४ बलमै पूरा गर्दै सनसनीपूर्ण जित दर्ता गर्यो।

पहिलो सुपरको अवस्था

यस अगाडि पहिलो सुपर ओभरमा पञ्जाबले निकोलस पुरन र केएल राहुललाई ब्याटिंगमा पठायो। मुम्बईले जस्प्रित बुम्राहलाई बलिंग दियो।

बुम्राहको पहिलो बलमा राहुलले १ रन लिए। दोश्रो बलमा पूरनलाई अनुकूल रोयमार्फत बुम्राहले क्याच आउट गराए। तेश्रो बलमा राहुलले पुनः १ रन लिए। चौथो बलमा दीपक हुडाले पनि १ रन लिए। पाँचौ बलमा राहुलले २ रन लिए। छैठौं बलमा बुम्राहले राहुललाई एलबीडब्लु आउट गरे। पञ्जाबले ५ रन मात्र बनाउन सक्यो र मुम्बईलाई ६ रनको लक्ष्य दियो।

लक्ष्य पछ्याउने क्रममा मुम्बईले ब्याटिंगमा रोहित शर्मा र क्विन्टन डी ककलाई पठायो भने पञ्जाबले बलिंग मोहम्मद शामीलाई दियो।

शामीले पहिलो ३ बलमा एकएक रन मात्र दिए। पहिलो र तेश्रो बलमा डी ककले तथा दोश्रो बलमा रोहितले १ रन लिए। चौथो बलमा रोहितले रन बनाउन सकेनन्। २ बलमा जित्न ३ रन आवश्यक थियो पाँचौ बलमा रोहितले १ रन लिए। अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो तर छैठौं बलमा डी कक दोश्रो रन लिनेक्रममा रन आउट भएपछि खेल सुपर ओभर बराबरी हुन पुग्यो।

पहिलो सुपर ओभर बराबरी भएपछि खेल दोश्रो सुपर ओभरमा पुग्यो।

Image
दोश्रो सुपर ओभरमा के भयो

दोश्रो सुपर ओभरमा मुम्बईले ब्याटिंगमा काइरन पोलार्ड र हार्दिक पान्ड्या तथा तेश्रो ब्याट्सम्यानको रुपमा सुर्यकुमारलाई राख्यो। पञ्जाबको लागि क्रिस जोर्डनले बलिंग गरे।

जोर्डनको पहिलो बलमा पोलार्डले १ रन लिए। त्यसपछिको बल वाइड गरे। दोश्रो बलमा हार्दिकले १ रन लिए। तेश्रो बलमा पोलार्डले चौका हिर्काए। जसपछिको बलमा जोर्डनले पुनः वाइड दिए। त्यसपछि चौथो बलमा २ रन लिने क्रममा हार्दिक रन आउट हुन पुगे। पाँचौ बलमा पोलार्डले रन बनाउन सकेनन् । छैठौं बलमा पोलार्डले २ रन लिए। त्यसपछिको अन्तिम बलमा पनि २ रन लिए उनले ।

मुम्बईले कुल ११ रन बनाउदै पञ्जाब १२ रनको लक्ष्य दियो।

पञ्जाबको पारीमा उसले ब्याटिंगमा क्रिस गेल र मायाँक अग्रवाललाई पठायो भने मुम्बईले ट्रेन्ट बोल्टलाई बलिंग दियो।

बोल्टले पहिलो बल फुल टस गरे जसलाई गेलले छक्का हिर्काए। दोश्रो बलमा गेलले १ रन लिए। तेश्रो बलमा अग्रवालले चौका हिर्काए। चौथो बलमा अग्रवालले चौका हिर्काउदै टिमलाई जित दिलाए।

आईपीएल इतिहासमै एकै खेलमा २ पटक सुपर ओभर भएको यो पहिलो पटक हो ।

निर्धारित ओभरको खेल

Image

यस अघि मुम्बई ले दिएको १ सस ७७ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन नै बनाएको थियो।

पञ्जाबको लागि कप्तान केएल राहुलले ७७ , क्रिस गेल र निकोलस पुरनले समान २४ । २४, दिपक हुडाले २३, क्रिस जोर्डनले १३ रन र मायाक अग्रवालले ११ रन बनाए।

पञ्जाबलाई रोक्ने क्रममा मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ३, राहुल चाहरले २ विकेट लिए ।

मुम्बईको ब्याटिंग

Image

यस अघि टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो।

मुम्बईको लागि ओपनर क्वीन्टन डी ककले ५३, क्रुनाल पान्ड्याले ३४,नाथन कौल्टर नाइलले २४ , रोहित शर्मा, ९, हार्दिक पाण्डेय ८, इशान किसनले ७ रन बनाए ।

मुम्बईलाई रोक्ने क्रममा पञ्जाबका मोहम्मद शामी र अर्शदिप सिंह सिंहले २ । २ विकेट तथा क्रिस जोर्डन र रभी बिस्नोइले एक एक विकेट लिए।

अंकतालिका र आगामी खेल


जितपछि पञ्जाब ९ खेलमा तेश्रो जितसंगै अंकतालिकाको पुछारबाट राजस्थान र चेन्नाईलाई पछि पार्दै छैठौं स्थानमा उक्लेको छ। समान ६ अंक रहेता पनि नेट रन रेटमा चेन्नाई र राजस्थान पछि रहेका छन्। हैदरावादको पनि ६ अंक रहेको छ जो पाँचौ स्थानमा छ।

हारपछि मुम्बई ९ खेलमा ६ जित र ३ हार पछि १२ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ। समान १२ अंक रहेको बैंगलोर नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ। १४ अंक बटुलेको दिल्ली पहिलो स्थानमा छ भने १० अंक सहित कोलकाता चौथो स्थानमा छ।

पन्जाबले आगामी खेल शनिवार हैदरावादबिरुद्ध तथा मुम्बईले शुक्रबार चेन्नाईबिरुद्ध खेल्ने तालिका रहेको छ।

सोमबारको खेलमा राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.