Prakash Adhikari October 24, 2020

 

शारजहाँ(संयुक्त अरब इमिरेट्स), ८ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग(आईपीएल) २०२० अन्तरगत शुक्रबार सम्पन्न ४१ औं खेलमा मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्स्लाई १० विकेटको अन्तरमा पराजित गरी आफ्नो शीर्षस्थान सुरक्षित गरेको छ ।

शारजाह क्रिकेट मैदानमा चेन्नाईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले कुनै पनि विकेट नगुमाई १२.२ ओभरमै हासिल गर्यो। ओपनर इशान किशन र क्विन्टन डी ककले १ सय १६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

https://twitter.com/theargus_in/status/1319687855355039744

५६ बल बाँकी रहँदै मुम्बईको जित हात पारेको थियो । यो आईपीएल इतिहासमै चेन्नाईबिरुद्ध कुनै पनि टिमको धेरै बल बाँकी रहँदै हुनगएको जित हो। यस अघि दिल्लीले २०१२ मा ४० बल बाँकी रहँदै चेन्नाईलाई पराजित गरेको थियो।

१ सय १५ रनको लक्ष्य हासिल गर्ने क्रममा ओपनर किशनले ६ चौका र ५ छक्काको मद्दतले अविजित ६८ रन बनाए भने डी ककले ३७ बलमा ५ चौका र २ छक्काको मद्दतले अविजित ४६ रन बनाए।

चेन्नाईको ब्याटिंग

यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो।

Image

चेन्नाईको लागि श्याम करणले ५२ रन,कप्तान महेन्द्रसिंह धोनीले १६, इमरान ताहिरले अविजित १३, शार्दुल ठाकुरले ११, रभिन्द्र जडेजाले ७, अम्बाती रायडुले २ र फाप डु प्लेसिसले १ रन बनाएका थिए । १२ रन मुम्बईले अतिरिक्तको रुपमा दिएको थियो।

चेन्नाईलाई रोक्ने क्रममा मुम्बईको बलिंगमा ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए भने जस्प्रित बुम्राह र राहुल चाहरले समान २ । २ विकेट लिए । नाथन कौल्टर नाइलले १ विकेट लिए।

चेन्नाईको लागि ‘गर या मर’ को रुपमा रहेको खेलमा लज्जाजनक रुपमा पराजित भएपछि चेन्नाई आईपीएल इतिहासमै पहिलो पटक प्लेअफ चरण पुग्न असफल हुने स्थितिमा पुगेको छ। ३ पटक उपाधि जितेको तथा गत सिजनको उपविजेता टिम अंकतालिकाको पुछारमा यथावत रहेको छ। चेन्नाई ५ पटक लिगको उपविजेता बनिसकेको छ र त्यसबाहेक ५ सिजन अंकतालिकाको चौथो स्थान भित्र रहँदै प्लेअफ पुगेको थियो ।

अंकतालिका र आगमी खेल


यो जितपछि १४ अंकसहित मुम्बई पहिलो स्थानमा उक्लेको छ। मुम्बईको १० खेलमा ७ जित र ३ हार पछि १४ अंक रहेको छ। समान खेल तथा जित र हार पछि समान १४ अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै दिल्ली दोश्रो र बैंगलोर तेश्रो स्थानमा रहेका छन्। अब एक एक जितले सबै तिन ३ टिम प्लेअफमा पुग्नेछन्।

११ खेलमा ३ जित र ८ हारपछि चेन्नाई ६ अंक बटुल्दै अंकतालिकाको पुछारमा छ। अब चेन्नाईले बाँकी सबै ३ खेल जित्ने हो र अन्य कोलकाता, हैदरावाद, पञ्जाब र राजस्थानको अंक १२ मा सीमित रहने भने नेट रन रेटमा चेन्नाईको सम्भावना हुन्छ। तर ०.७३३ नेट रन रेट भएका कारण चेन्नाईको सम्भावना असम्भव जस्तो छ।

चेन्नाई प्लेअफ दौडबाट बाहिरिएपछि अब कोलकाता, हैदरावाद, पञ्जाब र राजस्थानबीच प्लेअफ पुग्न प्रतिस्पर्धा हुनेछ।

लिग अन्तर्गत शनिवार दुई खेल हुनेछन्। कोलकाता र दिल्लीले ३ : ४५ बजे पहिलो तथा पञ्जाब र हैदरावादले ७ : ४५ बजे बेलुका दोश्रो खेल खेल्नेछन्।

मुम्बईले आगामी खेल बुधबार बैंगलोरबिरुद्ध तथा चेन्नाईले बिहिबार कोलकाताबिरुद्ध खेल्ने तालिका रहेको छ।

Share Now

Leave a comment.