Prakash Adhikari October 24, 2020

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ८ कार्तिक(बीबीसी) । संयुक्त राज्य अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउँदा अमेरिकामा एकैदिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

अमेरिकाका सर्जन जनरल जेरोमी एडम्सले अस्पतालमा भर्ना हुने सङ्ख्या बढिरहेको चेतावनी दिनुभएको छ।

तर बिरामी ज्यान गएको दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ।

औषधी निर्माता ठूला कम्पनीहरू एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनले नियामकहरूबाट खोप परीक्षण अनुमति पाएर पुनः परीक्षण गरिरहेका बेला पछिल्लो विवरण आएको छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि उत्तरी गोलार्द्धका मुलुकहरू कठिन अवस्थामा रहेको चेतावनी दिएको छ।

महानिर्देशक टेड्रोस एडहानमले सञ्चारकर्मीहरूलाई भन्नुभएको छ, ूआउँदा केही महिना असाध्यै कठिन छन् र केही मुलुकहरू खतरनाक बाटोमा छन्।ू

अमेरिका

अमेरिकी पछिल्ला तथ्याङ्क कस्ता छन् ?

कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकामा महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्।

शुक्रवारको सङ्ख्या यस अघिको सर्वाधिक सङ्ख्या जुलाई १७मा रहेको ७६ हजार ८ सय ४२ भन्दा ६ हजारले बढी छ।

गत एकहप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। जुन जुलाई यताको सबभन्दा धेरै साप्ताहिक सङ्ख्या हो।

कोभिड(१९ का कारण मृत्यु हुनेको सङ्ख्या पनि गत ६ दिनमा उल्लेख्य रूपमा बढेको छ। तर त्यो एप्रिलमा दैनिक २०००को मृत्यु भएको भन्दा कम छ।

अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दो छ।

शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ मानिसहरूको अस्पतालमा उपचार भइरहेको छ।

यो अगष्ट यताको सबभन्दा उच्च सङ्ख्या हो तर एप्रिल र जुलाईको भन्दा कम।

कुन राज्य बढ्ता प्रभावित ? 

अमेरिकाको मध्यपश्चिम क्षेत्र सबभन्दा प्रभावित छ। नर्थ डेकोटा, मोन्ट्याना र विसकन्सिनमा सङ्ख्या अत्यधिक बढिरहेको छ।

आसन्न राष्ट्रपतिय चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने ओहायो राज्यमा अधिकारीहरूले तेस्रो दिनपनि अत्यधिक सङ्ख्यामा सङ्क्रमित फेला पारेको बताएका छन्।

इलिनोइ र इन्डियानामा पनि शुक्रवार अहिलेसम्मकै धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका छन्।

त्यसैगरी दक्षिण पश्चिमी उटाहमा पनि अत्यधिक सङ्ख्यामा सङ्क्रमित पुष्टि गरिएको छ।

बोस्टनमा एक महिला कोरोनाभाइरस परीक्षणका लागि स्वाब लिँदै
बोस्टनमा एक महिला कोरोनाभाइरस परीक्षणका लागि स्वाब लिँदै

उटाहका गभर्नर ग्यारी हर्बर्टले भाइरसले स्थानीय अस्पतालको क्षमतामा नराम्ररी प्रभाव पारेको बताउनुभएको छ।

हबर्टले भन्नुभएको छ ‘यदि हामीले गम्भीर पाइला नचाल्ने हो र मास्क नलगाउने हो भने उपचार चाहिने सबैका लागि हामी सेवा उपलब्ध गराउन नसक्ने स्थितिमा पुग्न सक्छौँ।”

राष्ट्रपतीय प्रतिस्पर्धामा प्रभाव

नोभेम्बरको चुनावमा कोरोनाभाइरस महामारी एक प्रमुख एजेन्डा बनेको छ।

राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडनले बिहीवारको राष्ट्रपतीय बहसमा त्यसैबारे चर्काचर्की गर्नुभएको थियो।

दुवै उम्मेदवारले महामारी नियन्त्रणको भावी बाटोबारे फरक फरक धारणा प्रकट गर्नुभयो।

फ्लोरिडामा शुक्रवार आयोजित र्‍यालीमा राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई महामारी छिट्टै अन्त्य हुने बताउनुभएको थियो। ट्रम्पका मतदातालाई बाइडेनले भाइरसको डर देखाएर त्रस्त बनाउन खोजेको आरोप पनि ट्रम्पले लगाउनुभयो।

बाइडनले डेलावेरमा आयोजित कार्यक्रममा महामारी नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको थियो।

उहाँले आफूले जितेमा सबै राज्यमा मास्क अनिवार्य बनाउने राष्ट्रिय परीक्षण योजना कार्यान्वयन गर्ने र पीपीई यथेष्ट बनाउन लगाउने बताउनुभयो।

बाइडनले आफूले जितेमा खोप उपलब्ध भएपछि सबै अमेरिकीका लागि निस्शुल्क बनाउने बताउनुभएको थियो।

Share Now

Leave a comment.