जुलियाना ग्र्यागन्यानी / बीबीसी न्यूज
ब्रासिलिया(ब्राजिल),१३ कार्तिक । यो कुनै विज्ञान सिनेमाको दृष्य जस्तो लाग्छ ,जायन्ट एन्टइटर (एकप्रकारको स्तनधारी जीव), उसको खैरौ र बाक्लो रौँले भरिएको पञ्जा माछाको कत्लायुक्त छालाले मोडिएको छ अर्थात् प्राणी एउटा तर दुई फरक आवरण।
तर यो त संसारकै सबभन्दा ठूलो उष्णप्रदेशीय सिमसारमा दशकौँ यताको सबभन्दा नराम्रो जङ्गली आगलागीमा परेका जनावरको घाउ निको पार्न अपनाइएको विधि मात्रै हो।
आगोले त्यहाँको २७ प्रतिशत क्षेत्रफल समाप्त पारेको छ। ब्रजिल र उसका छिमेकी देशहरू बोलिभिया र पाराग्वेसम्म फैलिएको यो क्षेत्र संसारको सबभन्दा विविधता भएको ठाउँ हो।
माछाको छालाबाट उपचार
प्यान्टनलमा पृथ्वीकै सबभन्दा धेरै स्तनधारीहरूको घनत्व छ जुन आगोको लप्काले नराम्ररी प्रभावित भएको छ।

टापिरको बच्चाको घाइते पञ्जा माछाको छालाले बेरेर राखिएको छ
स्वच्छ पानीमा हुने टिलापिया भनिने माछाको छाला मृगका बच्चा, टापिर र तिनका बच्चा त्यसैगरी एन्टइटर र एनाकोन्डा भनिने सर्पको उपचारमा लगाइएको छ।
त्यसपछि लाइनमा छ टुयुयु, जुन प्यान्टनलको प्रतीक पनि हो।
यो प्रविधि फेडेरल युनिभर्सिटी अफ सीयरामा विकास गरिएको हो। त्यहाँका फीलिप रोचा भन्नुहुन्छ, ‘टिलापियाको छालामा कोलाजेनको बाक्लो तह हुन्छ, जसले जलेको सन्चो हुन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।’
माछाको छाला माछापालकहरूले उपलब्ध गराएका हुन् जुन उनीहरूले धेरैजसो फाल्ने गर्थे। छालालाई सुकाइन्छ, निर्मलीकरण गरिन्छ र कोठाको तापक्रममा राखिन्छ।
विस्फोटका घाइतेको उपचार
तिनले जैविक औषधिको काम गर्दै घाउ छिटो सन्चो हुन मद्दत गर्छन्।

अनुसन्धानकर्ताहरूले सन् २०१५ देखि आगोले पोलेका बिरामीहरूको उपचारमा माछाको छालाको प्रयोग गर्ने विधि प्रयोग गर्दै आएका छन्
अनुसन्धानकर्ताहरूले यो प्रविधि अस्पतालमा आगोले जलेका बिरामीको घाउ निको पार्ने प्रक्रियामा सन् २०१५ देखि प्रयोग गर्न थालेका हुन्।
अगष्ट महिनामा उक्त विश्वविद्यालयले ४० हजार वर्ग सेन्टिमीटर माछाको छाला बेइरुतमा भएको विस्फोटका घाइतेको उपचारका लागि पठाइदिएका थिए।
विस्फोटमा परेर २ सय ३ जनाको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए।
उनीहरूले युनिभर्सिटी अफ ड्याभिसका अनुसन्धानकर्तासँग मिलेर क्यालिफोर्नियामा सन् २०१८ मा भएको आगलागीमा घाइते भएका भालुहरूको उपचारमा पनि सहकार्य गरेका छन्।
प्यान्टनलमा जङ्गली जनावर जलेका तस्बिर देखेर रोचा र उहाँका सहकर्मीहरुलाई दुःख लाग्यो।
जङ्गली जनावरसम्बन्धी काम गर्ने गैर सरकारी संस्था अम्पारासँग सम्पर्क गरेर उनीहरूले कुयाबास्थित माटो ग्रोसो विश्वविद्यालयको पशु अस्पतालका कर्मचारीलाई प्रविधि सिकाए।
कम दुखाइ र रगतरपानी बहने समस्या कम
जनावरहरू सञ्चो भएको देख्दा रोचा दङ्ग देखिनुहुन्छ।

संरक्षणकर्ताहरू दशकौँ यताको नराम्रो आगलागीले जङ्गली जनावरमा पारेको प्रभावलाई लिएर चिन्तित छन्
साधारणतया घाउमा मलम लगाइन्छ। त्यसका लागि जनावरलाई बेहोस बनाएर पशु चिकित्सकले ब्यान्डेज फेर्ने र मलम लगाउने गर्छन्।
तर टिलापियाको छाला लगाउँदा हरेक दिन ब्यान्डेज फेर्न पर्दैन र जनावरलाई हुने दुख घट्छ र काम पनि घट्छ, रोचा भन्नुहुन्छ ।
माछाको छाला उपचारमा रहेको भागमा राम्ररी टाँसिन्छ र घाउमा किटाणु पस्न पनि दिँदैन।
‘उ पानी भित्र र बाहिर गरिरहन्थी’
दुईवटा जनावर मिसिएको जस्तो देखिने पनि अस्थायी हो। किनभने माछाको छालाको सेतो भाग जनावरको मासुमा मिल्न जान्छ र कत्ला खस्छ।
र, जनावरको छाला उसको आफ्नै स्वरूपको बन्न जान्छ।

नराम्ररी घाइते भएको टापिरमा माछाको छालाको उपचार थालिएपछि उसको बेहोरा पूर्ण रूपमा परिवर्तन भएको थियो
चारवटै खुट्टा जलेको मृगको बच्चा माछाको छालाको उपचार पाउने पहिलो घाइते जनावर थियो। त्यसपछि दुई वयस्क टापिरको पालो आयो त्यसपछि तिनका बच्चाको पालो आयो।
एउटा टापिर त नराम्ररी घाइते थिइ र उसले पानीमा खान वा खेल्न अस्वीकार गर्ने गर्थी, यो समूहले उसको ढाडमा ब्यान्डेज लगाइदियो, रोचा भन्छन्, ‘अर्को दिन उ पानीमा पुगिहाली।’
‘उ पानी भित्र बाहिर गरिरहन्थी। हामीले उसको घाउ कसरी सञ्चो भइरहेको छ भन्ने देख्न सक्दैनथ्यौँ तर हामीले उसको बानीमा आएको परिवर्तन देख्न सक्थ्यौँ।’
त्यसपछि जायन्ट एन्टइटर र एनाकोन्डाको पालो थियो तिनका छाला नराम्ररी जलेका थिए र मासु बाहिर देखिएको थियो।
ठूलो ‘सन्तुष्टि’
रोचाका भनाइमा सर्पको अवस्था चुनौतीपूर्ण थियो तर यो उपचार पद्दतीले काम गर्ला भन्ने उनीहरूमा विश्वास थियो।

घाइते जनावरलाई सघाउन पाउँदा ‘ठूलो सन्तुष्टि’ मिलेको रोचा बताउँनुहुन्छ ।
‘दुखमा परेका जनावरलाई सहयोग गर्नु ठूलो खुशीको कुरा थियो’, उहाँ भन्नुहुन्छ, ‘देशको यो दुखदायी समयमा सहयोग गर्न पाउँदा हामी खुशी र रोमान्चक भएका छौँ।’
प्यान्टनलमा ६० वर्ष यताकै नराम्रो खडेरी परेको छ र यसले आगो बढाइदिएको औपचारिक तथ्याङ्कले देखाएको छ।
आगो फैलिनुमा मानिसको गतिविधि पनि कारक रहेको विज्ञहरूको भनाइ छ।
वातावरण समूहरूले राष्ट्रपतिको सरकार र प्रान्तीय सरकारले आगो नियन्त्रण गर्न लामो समय लगाएको भन्दै आलोचना गरेका छन्।
(चेतावनी: यो रिपोर्टमा आगलागीमा परेका जनावरका तस्बिरहरू छन्, जुन कुनै पाठकलाई विचलित तुल्याइदिन सक्छन्।)


















