
एटलाण्टा(जर्जिया, संयुक्त राज्य अमेरिका), २७ कार्तिक(बीबीसी) । राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा झिनो अन्तरका साथ जो बाइडन अघि देखिएको जोर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको छ। त्यहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति(निर्वाचित बाइडनबीच करिब १४ हजार मतको अन्तर छ।
निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो।
हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान सञ्चालन गरेको टोलीले यसलाई महत्त्वपूर्ण पहिलो कदम भनेको छ।
रिपब्लिकन पार्टीका तर्फबाट जोर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीहरूलाई यो ‘निष्ठा’ र ‘पारदर्शिता’ को जित भएको बताएका छन्।
अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जाँच गरिने बताएका छन्। उनले आफूले त्यो ूगहनू मतगणना ( राज्यले तोकेको अन्तिम मिति ( नोभेम्बर २० तारिख सम्ममा सकिने आशा गरेको बताए।
जोर्जियाका निर्वाचन अधिकृत ग्याब्रीएल स्टेरलीङ्गले ‘दोहोर्याएर मतदान गरेका’ वा ‘मतदानका लागि दर्ता नभएका’ पत्ता लाग्ने बताएका छन्।
पुनः मतगणना गर्ने विषयमा प्रत्येक राज्यको आफ्नै नियम हुन्छ। तर सामान्य रूपमा भने भोटलाई पुनः मिलान र स्क्यान गरिन्छ।
केही स्थानमा विद्युतीय उपकरणको वैधता सुनिश्चित गर्नका लागि निश्चित सङ्ख्यामा भोटहरू सधैँ हातबाटै गन्ने गरिन्छ।
तर दोहोर्याएर गरिएका मत गणनाले खासै परिवर्तन भने ल्याएको पाइँदैन। महत्त्वपूर्ण विषय के पनि छ भने बाइडनले जोर्जिया राज्यमा हार बेहोरे पनि उनीसँग २ सय ७० भन्दा बढी निर्वाचक मत हुनेछ। जर्जिया राज्यमा बिजयी हुनेले १६ निर्वाचक मत पाउछन् ।
जोर्जियाले निर्वाचनको नतिजा प्रमाणीकरण गर्ने म्याद अनुसार नोभेम्बर २० तारिख भित्रै आफ्नो कार्य सक्काउनुपर्ने हुन्छ।
यसअघि ट्रम्पको टोलीले विस्कन्सिन राज्यमा पनि पुनः मतगणनाको माग गर्ने बताएको थियो।
कोलम्बिया युनिभर्सिटी ल स्कुलका प्राध्यापक रिचर्ड ब्रीफ्ल्टले सन् २०१६मा पनि विस्कन्सिनमा दोहोर्याएर मत गणना गरिएको र त्यसले केही सय भोटमा फरक पारेको बीबीसीलाई बताउनुभयो।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा हार मान्नुभएको छैन र कानुनी लडाइँ लड्ने बताइरहनुभएको छ।
मङ्गलवार एउटा कार्यक्रमका क्रममा अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले ‘राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने’ बताउनुभएको थियो।