प्रधानमन्त्री र सरकारको कमजोरी देखाउदा नेकपा अध्यक्ष प्रचण्डसंग प्रधानमन्त्री ओली निकट नेताहरु रुष्ट

काठमाडौं, २९ कार्तिक ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रवार बसेको बैठकमा पुष्पकमल दाहाल प्रचण्डले दलको एकता प्रक्रियामा निकै ठूलो अन्योल र गतिरोध भएको भन्दै २० पृष्ठ लामो प्रस्ताव पार्टी सचिवालयमा प्रस्तुत गरेपछि प्रधानमन्त्री के.पी. ओलीको क्याम्पमा खैलाबैला मच्चिएको छ ।
त्यसमा अध्यक्ष प्रचण्डले खासगरी भदौ २६ मा सकिएको स्थायी समितिका निर्णयहरू कार्यान्वयन जान नसकेको र पार्टीमा उत्पन्न अविश्वास, आशङ्का र अन्तर्विरोध समाधान गर्ने प्रयासमा सोचे जस्तो प्रगति हुन नसकेको उल्लेख गर्नुभएको छ।
मङ्सिर ३ गते पुनः बस्ते बैठकमा सो प्रतिवेदनमा छलफल हुन सक्ने अवस्था छ।
तर दुई नेताबीच भएको पत्राचार र आरोप(प्रत्यारोपका कारण पार्टी एकता अझ सङ्कट परेको हो कि भन्ने आशङ्का उत्पन्न भइरहेको बेलामा पार्टीका कार्यकारी अध्यक्षद्धारा औपचारिक छलफलको लागि प्रस्तुत प्रस्तावमा उल्लेखित बूँदाहरुले आगोमा घ्यू थप्ने भय पनि संगै उत्पन्न भएको छ ।
प्रम ओली क्याम्पमा विरोध
‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्मअनुरूप छलफललाई अघि भढाउन हार्दिक अनुरोध गर्दछु’,नेता शङ्कर पोखरेलले फेसबुकमा लेख्नुभएको छ।
व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय भएको तर्क गर्दै पोखरेलले ‘अध्यक्षहरू व्यक्तिगत विचार राख्न स्वतन्त्र’ छन् तर ‘औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमति हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख छ’ भनेर लेख्नुभएको छ।
दुई अध्यक्षबीच विवाद उत्पन्न हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दुवैसँग भेटेर समाधानको प्रयास गरेको बताइन्छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले त पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावलाई ‘सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढङ्गले बाँडेको अराजनीतिक प्रस्तावू बताउँदै त्यो ‘लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन नसक्ने ‘ उल्लेख गर्नुभएको छ।
शनिवार दिउँसो थापाले फेसबुकमा लेख्नुभएको छ, ‘पार्टी विधान, परम्परा, अभ्यास र दुवैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लङ्घन हो।’
थापाको थप धारणा छ : ‘यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्ने छ।’
ओली पक्षलाई झस्काउने गरी प्रचण्डले लेखेर सचिवालयमा प्रस्तुत गरेको प्रस्तावमा के छ?
- सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम र घोषणापत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरूको उपेक्षा गर्दै अघि बढ्ने हो ऐतिहासिक अवसर हेर्दा हेर्दै गुम्न सक्ने खतरा र चुनौति अगाडि देखा पर्दै जान थालेको
नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पैद र पैसाका निमित्त जे पनि गर्न उद्यत हुने घोर व्यक्तिवादी र अराजकतावादी प्रवृत्ति झाँगिदै गएको - वस्तुत: , अन्तत: र मुख्यत: पार्टी र सरकारको मुख्य नेतृत्वमा रहेका कमरेड केपी ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवारवादी सोच र कार्यशैली प्रमुख रूपमा जिम्मेवार रहेका
- वहाँ (ओली) न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनीतिक, संस्कृति नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट वहाँले समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नुभएको छ
- वहाँ (ओली)ले पार्टी, विचार, नीति र योजनाको होइन बरु प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रूप र मान्यताअनुसार सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरिरहनुभएको छ
- कमरेड केपी ओली कहिल्यै फागुन १ गतेको कार्यक्रम (जनयुद्धका शहीदहरूको स्मृति दिवस) मा सहभागी बन्न समेत तयार हुनुभएन
- आफू अप्ठ्यारोमा पर्दा आफ्ना समकक्षी नेताहरूलाई विभिन्न लोभ, प्रलोभन देखाउने र सहमत नभएमा डर, धाक, धम्की र चरित्रहत्या जस्ता घृणित हतियार प्रयोग गर्न वहाँ (ओली) हिचकिचाउनु भएन
- भारतद्वारा अतिक्रमित देशको भूभाग समावेश गरिनुपर्छ र भारतीय फौज नेपाली भूमिबाट हटाइनुपर्छ भनि शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि दमन गर्ने तर प्रधानमन्त्रीको स्तुतिमा निस्किएका जुलुसलाई संरक्षण दिइएको देखियो
- मन्त्रिपरिषद्लाई निजी सचिवालयजस्तो व्यवहार गर्दै प्रशिक्षण चलाउने तथा मन्त्रीहरूलाई सचिवहरूसँग राखेर प्रशिक्षण र निर्देशन दिनुका साथै निजी सल्लाहकारलाई राखेर कार्यप्रगति विवरण माग्ने जस्ता काम प्रधानमन्त्रीबाट भए
- वाइड-बढी विमान खरिद, सुरक्षा छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शङ्कास्पद कारोबार, चिनी आयात घोटाला, कोरोनाभाइरस सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजस्वका दररेट परिवर्तनलाई चुहाएर विद्युत्बाट चल्ने गाडी र चकलेट आयातजस्ता प्रकरण भए। यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर केपी ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो
- कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षित हुन सरकारले देशमा बन्द र बन्देजको घोषणा गरेको स्थितिमा श्रमजीवी, गरिब र कमजोर वर्ग तथा समुदायका मानिसहरूको पीडाप्रति प्रधानमन्त्री संवेदनशील हुनुभएन। ती समुदायका पीरमर्काको कुरा गर्नेप्रति व्यङ्ग्य गर्दै आलोचना गरियो
- स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको कुराले नेपालको शिर झुकेको छ
- सरकार सञ्चालनको दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपले असफल देखिनुभयो
- प्रधानमन्त्रीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्ण रूपमा गुमराहमा राख्नुभयो। पहिलेको सम्झौता भन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी पार्टीबाट गोप्य राखेर कार्यान्वयन सम्झौता गर्नुभयो।
आदानप्रदानको पृष्ठभूमि
यसअघि २२ कात्तिकमा नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले ओलीलाई सचिवालय बैठक बोलाउन माग गर्दै संयुक्त पत्र लेख्नुभएको थियो।
त्यसमा पार्टी विभाजित हुनसक्ने सङ्केत ओलीले प्रचण्डलाई दिएको कुरा उठाइएको थियो।
कार्यकारी अध्यक्षका रूपमा प्रचण्डले बैठक बोलाउन खोजेको बताउँदै त्यस बेला ओलीले ूत्यसो गरेकै दिन पार्टी फुट्यो भनेर आफूले लिनेू बताउँदै बैठक बस्न असहमति जनाएको कुरा उल्लेख छ।
”बहुमत नमान्ने’, ‘सचिवालय तपाईँको गुट हो, स्थायी कमिटी हुल्लडबाज हो र केन्द्रीय कमिटी सडकछाप हो, यिनको बैठक के आवश्यकता’ जस्ता शब्दावली ओलीले प्रयोग गरेको भनिएको सन्दर्भ ती सदस्यले उठाएका थिए।
कात्तिक २५ गते ओलीले उत्तर दिँदै एकताका विषयमा र पार्टीका सर्वोच्च निकायहरूको अपमान गरेको तिनका बहुमत नमान्ने कुराहरू ‘सङ्गीन आरोप’ भएको उल्लेख गरेका छन्।
प्रम ओलीको पत्रमा अरू के छ ?
उनले पत्रमा भदौ २९ मा भएको पार्टी सञ्चालनसम्बन्धी निर्देशनको स्मरण गर्नुभएको छ।
त्यसबाहेक मन्त्रिपरिषद्का सबै सदस्यलाई राजीनामा गराई केही मन्त्रीहरूको नियुक्ति गर्ने विषयमा प्रचण्डको जोड रहेको ओलीले जनाउनुभएको छ।
ओलीले लिखित रूपमा यस्तो कुरा राख्नु अशोभनीय हुने ठानेको बताउँदै प्रचण्डको ‘ईश्वर पोखरेल र रामबहादुर थापाको निरन्तरतामा असहमति रहेको’ जनाउनुभएको छ।
मन्त्रिमण्डल पुनर्गठणसम्बन्धी दोस्रो विकल्पमा ‘एउटा अवधि पूरा गरेका मन्त्रीहरूलाई बिदा गरी नयाँ मन्त्रीहरू नियुक्त गर्ने विषयमा दुई पूर्वाधार नभई नेकपा मुखरित हुनेगरी एक पटकभन्दा बढी चुनाव जितेका कमरेडहरूलाई ध्यानमा राखी मन्त्रिमण्डलको सहभागितामा सन्तुलन मिलाउने ‘ प्रस्ताव आफूले गरेको ओलीले जबाफमा उल्लेख गर्नुभएको छ।
तर उक्त मापदण्डअन्तर्गत प्रचण्डको केही सम्भावित नाममा आपत्ति रहन गएको ओलीको दाबी छ।
पत्रमा ओलीले उल्लेख गर्नुभएको छ, ‘दुई अध्यक्षबीच आपसी छलफलमा चर्चा गरिएका नाम लगायतका विषयको कम्तीमा पनि लाज राख्नुपर्छ भन्नेमा म स्पष्ट रहेकाले यहाँ ती कमरेडहरूको नाम उल्लेख गर्न चाहन्नँ।’
ओलीले आफूलाई सबै गडबडीको जिम्मेवार ठहर्याउने नेताहरूले ‘आफूले भने निरन्तर गुटबन्दी जारी राखेको, त्यसको आधारमा अड्को थाप्ने शृङ्खला जारी राखेको’ आरोप लगाउनुभएको थियो।
भदौ २६ को स्थायी समिति बैठकअनुसार सरकार सञ्चालनको यशरअपयश आफूले लिने तर पार्टीको एकीकरणको जिम्मा पाएका पार्टीका कार्यकारी अध्यक्षले समेत त्यसको जिम्मेवारी र मूल्याङ्कन गर्नुपर्ने विषय प्रधानमन्त्रीले उठाउनुभएको छ । उनले प्रचारको जिम्मा पाएका प्रवक्ताले पार्टीको संयन्त्रलाई पूरै बेवास्ता गरेको समेत उल्लेख गर्नुभएको छ।
ओलीले कार्यकर्तामाझ भएका विवाद र सरकारका राम्रा कामको समर्थन नभएका प्रसङ्ग पनि उठाउनुभएको छ।
बैठकबारे आफूले ‘कार्यसूची नै तयार नगरी बैठक बस्न मिल्दैन’ भनेकोमा कुरालाई अर्को रूपबाट ब्रीफिङ गरिएको उहाँको दाबी छ।
मङ्गलवार बालुवाटारमा नेकपाको स्थायी समिति बैठक बसेको थियो
उहाँले आफू अर्को कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्ष नहुने बताइसकेको भन्दै पत्रमा लेखेका छन्स् ‘चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौँ भने हामीले लाखौँ कार्यकर्ताको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?’
उनले अहिलेको समस्याको मुख्य जड ‘निश्चित शीर्ष नेताहरूको उहाँले आफ्नो विरोध अतृप्त आकाङ्क्षाको प्रतिफलबाहेक केही नभएको’ भन्दै आलोचना गर्नुभएको छ।
प्रत्युत्तरमा प्रचण्डले के लेखे
कात्तिक २८ मा प्रचण्डले ओलीलाई लेखेको पत्रमा ओलीको जबाफ ‘चिप्ला र गुलिया शब्दजालभित्र प्रस्तुत गरिएको झुटको पुलिन्दा’ रहेको उल्लेख गर्नुभयो।
ओलीबाट तथ्यको ‘तोडमरोड र तल्लो स्तरको झुटको खेती भएको’ प्रचण्डको दाबी थियो।
प्रचण्डले पत्रमा लेखेका छन्ः ‘म तपाईँलाई गम्भीरतापूर्वक चुनौती दिन चाहन्छु मैले कहाँ र कहिले मन्त्रिमण्डलको पुनर्गठनको सन्दर्भमा उपप्रधानमन्त्री कमरेड ईश्वर पोखरेल र गृहमन्त्री कमरेड रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ’
प्रचण्डले रामबहादुर थापालाई गत साता आफैँले उपप्रधानमन्त्री बनाउन प्रस्ताव राखेको समेत उल्लेख गर्नुभयो।
पूर्वमाओवादी खेमाका थापा यसबीचमा धुम्बाराही पार्टी कार्यालयमा आयोजित अनौपचारिक बैठकमा सहभागि हुुनुभएको थिएन।
ओलीलाई बैठक बोलाउन लेखिएको पत्रमा समेत उहाँले हस्ताक्षर गर्नुभएको थिएन।
कार्यकारी अध्यक्ष प्रचण्डको थप भनाइ छः ‘अति गर्नु, अतिचार नगर्न’ भन्छन् यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, ‘इनफ इज इनफ।’
प्रचण्डले आफ्नो अध्यक्षको कुर्सी हटाएर अपमानित गर्ने स्तरमा पनि ओली पुगेको पत्रमा उल्लेख गर्नुभएको छ।(बीबीसीबाट)