
वाशिंटन डी.सी(संयुक्त राज्य अमेरिका), ३० कार्तिक(बीबीसी) । अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन्।
वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको खबरहरू आएका छन्।
सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए।
त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए।
राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आउनुभएको छ।
निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हाल्नुभएको छ।
ती मुद्दामा उहाँले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका गर्नुभएको छैन।
तर राष्ट्रपति ट्रम्पका प्रयासमा शुक्रवारमात्रै तीनवटा धक्का लागेका छन्।
एरिजोना राज्यमा उनको समूहले निर्वाचनका दिन गरिएका मतदानमा मतपत्र पुनस् हेरिनुपर्ने माग गर्दै दर्ता मुद्दा फिर्ता लिएका छन्।
राष्ट्रपति ट्रम्पका प्रतिद्वन्द्वी बाइडनको स्पष्ट अग्रता देखिएपछि एरिजोनामा त्यस्तो मुद्दा हालिएको थियो।
केही वैध मतहरू अस्वीकार गरिएको भन्ने दाबीका आधारमा त्यस्तो मुद्दा दायर गरिएको थियो।
मिशिगनमा रिपब्लिकन तर्फका दुई पर्यवेक्षकले गरेको निवेदनलाई न्यायाधीशले अस्वीकार गरेका छन्।
ती पर्यवेक्षकले वेन काउन्टीमा धाँधली भएको आरोप लगाएका थिए।
पेन्सिल्भेनियामा ट्रम्पको अभियानले पत्रमार्फत आएका मतपत्रहरूलाई अमान्य गर्न गरिएका निवेदन पनि अस्वीकार गरिएको छ।
बाइडन समूहले भने मतपरिणाम फरक आउने अपेक्षा आफूहरूले नगरेको बताएको छ।