काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दिउँसो १ बजे सुरु भएको केन्द्रीय सचिवालयको बैठक समाप्त भएको छ।
बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार मंसिर १६ गते मंगलबार बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको थियो ।
प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको प्रस्तावको बारेमा प्रवक्ता श्रेष्ठले उल्लेख गर्न चाहनुभएन ।‘ पार्टीका पथम अध्यक्ष तथा प्रधानमन्त्री कमरेड के.पी. ओलीको प्रस्ताव खाममा वितरण गरियो, आज पढ्न पाइएको छैन र त्यसबारे अहिले केही भन्न सकिएन । उहाँले सचिवालयमा पार्टीका अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको प्रस्ताव अध्ययन गर्ने र यही बीचमा आवश्यक छलफल गृहकार्य समेत गरेर अर्को बैठक गर्ने निर्णय भएको बताउनुभयो
आजको बैठकमा पार्टीका अध्यक्ष द्धय र वरिष्ठ नेताहरु माधवकुमार नेपाल तथा झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र उत्पन्न हालको संकटबारे आआफ्ना धारणा राख्नु भएको थियो।
प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुले अहिले देखिएका समस्याका कारण पार्टी फुटतर्फ उन्मुख हुनुको कुनै कारण नभएको बताउनुभएको थियो।
पार्टी प्रवक्ता श्रेष्ठले भन्नुभयो ‘अब १६ गते सचिवालय बैठक बस्छ, आवश्यक परे १७ गते पनि बस्छ र १८ गते स्थायी समितिको बैठक नै बस्ने तय छ, त्यहाँ पनि छलफल हुन्छ।


















