Prakash Adhikari November 30, 2020

 

ब्यूनसएरिस(अर्जेन्टिना), १५ मंसिर(बीबीसी) । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले छानबिन थालेका छन्।

उनका छोरीहरूले उनको उपचारबारे प्रष्ट जानकारी माग गरेका छन्।

केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो।

घर र क्लिनिकमा प्रहरी

म्याराडोनाका छोरीहरूले आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै बयान दिएका थिए।

त्यसपछि अर्जेन्टिनाको राजधानी ब्यूनसएरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने प्रयास गरेको छ।

करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए भने २० जना उनको क्लिनिकमा पुगेका थिए।

म्याराडोनाका अन्तिम दिनहरूबारे प्रस्टता खोजिरहेका अभियोजनकर्ताहरूले उक्त छापा मार्न निर्देशन दिएका थिए।

ती अधिकारीहरूले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेका छन्।

म्याराडोना
कस्तो लापरबाही !
म्याराडोनाको ६० वर्षको उमेरमा गत बुधवार हृदयाघातका कारण निधन भएको थियो।

त्यसअघि उनको मस्तिष्कको सफल शल्यक्रिया भएको थियो।

तर शल्यक्रियापश्चत् निवासमा तङ्ग्रिन आवश्यक सुविधा पर्याप्त नभएको आशङ्का गरिएका छन्।

दुर्व्यसनमा लागेकाहरूको विशेष निगरानी गर्न सक्षम नर्सहरूलाई २४ घण्टा खटाइएको थियो कि थिएन अनि चिकित्सक तथा एम्बुलेन्सको उपलब्धता थियो कि थिएन भनेर छानबिन गरिँदैछ।

एउटा भावुक प्रेस सम्मेलनमा उनका चिकित्सक लुक रोएका थिए र आफूले मित्रको ज्यान जोगाउन हरसम्भव उपाय गरेको बताएका थिए।

लुकमाथि हालसम्म कुनै अभियोग भने लगाइएको छैन।

 

Share Now

Leave a comment.