Prakash Adhikari December 1, 2020

 

काठमाडौं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

आजको बैठक पार्टी कार्यालय धुम्बराहीमा बस्ने तय भएको थियो तर अन्तिम समयमा प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाउँदै बालुवाटार बाहिर बैठकमा नजाने अड्डी लिएपछि सरकारी निवास बालुवाटारमा बैठक बस्ने चाँजोपाँजो मिलाइएको थियो।

प्रधानमन्त्री ओलीले सुरक्षा निकायले धुम्बराहीमा हुने बैठक सुरक्षाको दृष्टिले जोखिमपूर्ण भएको सूचना दिएको भन्दै बैठक सार्न प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष सन्देश पठाउनुभएको थियो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो।

दुई अध्यक्षको प्रतिवेदनमा एकले अर्कालाई पार्टी र देशको हितको लागि पदत्याग गर्न सुझाव दिनुभएको छ ।

दुवै नेताहरुले पार्टी एकीकरण र सहकार्यपछि एकर्काबाट भएका धोकाघडीपूर्ण राजनीतिक दाउपेच सर्वाड. नग्न हुने गरी लिखित रुपमा पार्टीमा बुझाउनुभएको छ । निकृष्ट तहको व्यक्तिगत दोषारोपण र गाली गलौजमा उत्रिएको हुनाले नेकपा एक रहन सक्दैन भन्ने आँकलन राजनीतिक वृत्तमा गरिएको छ ।

दुवै नेताहरु आपसमा मन माझामाझ गरेर दुवै प्रतिवेदन फिर्ता लिन सहमत नभएमा दुवै प्रतिवेदन स्थायी समिति हुँदै केन्द्रीय समिति पुग्ने र बहुमतका आधारमा निर्णय गरी कुनै एक अध्यक्षलाई पार्र्टीबाट बाहिरिन बाध्य पार्ने परिस्थिति सिर्जना हुने अनुमान गरिएको छ ।

बैठकको सुरुआतमा पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको शुभ जन्मदिनको अवसरमा उहाँलाई सुस्वास्थ्य,दीर्घजीवन,सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै केक काटेर शुभकामना टक्रयाइएको थियो ।

 

Share Now

Leave a comment.