Prakash Adhikari December 6, 2020

 

काठमाडौं, २१ मंसिर । पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओलीको उपस्थितिबिनै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठक पूर्व निर्धारित समयमा धुम्बराहीस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

शनिवार सम्पन्न सचिवालय बैठकले सचिवालयमा प्रस्तुत पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रथम अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीका प्रस्तावहरु स्थायी समितिमा लैजाने निर्णय गरे अनुसार आजको बैठक बसेको हो । आज बैठक बस्ने कुरा यस अगावै मंसिर १८ को सचिवालय बैठकले निर्धारण गरेको भए पनि शनिवारको सचिवालय बैठकले अध्यक्षद्धयका प्रतिवेदन सचिवालयभन्दा माथिल्लो निकायमा पठाउने निर्णय गरेपछि आजको बैठक निश्चित भएको हो ।
हिजोको सचिवालय बैठकले पार्टीका अध्यक्षद्धयको प्रस्ताव उपर स्थायी कमिटिमा छलफल गर्ने निर्णय गरेता पनि सचिवालयले स्थायी समितिको बैठक आमन्त्रण गर्दा कार्यसूची तयार गर्ने परम्परा पूरा नगरेको भन्दै तयारी बिनाको र रीत नपुगेको बैठकमा सहभागी नहुने सन्देश प्रेस सल्लाहाकार सूर्य थापामार्फत प्रधानमन्त्रीले पठाउनु भएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको छ ।

सरकारको सञ्चालनमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको सहमति र पार्टीका ाधिकारिक निकाय सचिवालय,स्थायी समिति र केन्द्रीय समितिको आवश्यक सहमति वा परामर्श वा स्वीकृति लिएर समन्वयमा गर्ने भाद्र २६ गतेको स्थायी समितिको निर्णयको प्रधानमन्त्रीका तर्फबाट अवज्ञा भएपछि नेकपा भित्रको विवाद पुन बल्झेको थियो ।

पार्टीको कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका बहुमत सदस्यहरुको परामर्श र सहमतीमा १९ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि पार्टीमा प्रथम अध्यक्ष तथा प्रधानमन्त्री ओली र उहाँसंग असन्तुष्ट पक्षका बीचमा ध्रुबीकरण उत्कर्षमा पुगेको हो ।

सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टीभित्र उहाँको संरक्षण पाएका नेताहरुको कार्यशैली खास गरी मन्त्रिपरिषद‍्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे असुन्तुष्टि जाहेर गर्दै प्रतिवेदन तयार पारेका थिए ।

कार्यकारी अध्यक्ष प्रचण्डले त्यही प्रतिवेदन सचिवालयमा पेश गर्दै पार्टीभित्र देखिएको नीतिगत,सिद्धान्तगत र कार्यगत समस्या समाधानको लागि प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवैको नेतृत्व छोड्नु पर्ने माग गरेपछि प्रथम अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपहरु प्रमाणित गर्न नभएमा आरोप लगाउनेहरुले पार्टी छोड्नु पर्ने चुनौतीसहितको ३८ पानाको प्रस्ताव सचिवालयमा पेश गर्नुभएको थियो ।

दुवै पक्षबाट पेशभएका संगीन आरोपसहितका प्रतिवेदनमा जम्मा ९ सदस्यीय सचिवालयले एकल प्रस्ताव बनाउने गृहकार्यमा सफलता नपाएपछि दुवै प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेको थियो । स्थायी समितिले दुवै प्रस्तावमा छलफल गरी निर्णय गर्ने बताएको छ ।

तर स्थायी समितिका सदस्यहरुले दुवै प्रस्ताव अध्ययन गरी त्यसमा मत निर्माण गर्न केही समय लाग्ने भएकोले आज प्रस्तावहरु वितरण गरी अर्को बैठकको मिति तय गरिने संभावना छ ।

पार्टीको एकता बचाउने नाममा पार्टीभित्रका मध्यमार्गीहरु, राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको वैचारिक र भातृसम्बन्ध कायम रहेको छिमेकी मुलुक चीनकी महामहिम राजदूतले पनि मध्यस्थता प्रयास जारी राख्नुभएको छ ।

 

Share Now

Leave a comment.