
काठमाडौं, २१ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको छैटौँ स्थायी कमिटी बैठक मङ्सिर २८ गतेसम्मका लागि स्थगित गरिएको छ।
पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको बैठकमा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै तयार पारेको प्रतिवेदन वितरण गरिएको र त्यसको अध्ययन गर्नका लागि सात दिन समय दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ।
त्यस्तै यसअघि मङ्सिर २५ बाट प्रारम्भ हुने भनिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गते गर्ने पनि पार्टीले निर्णय गरेको छ।
बैठकमा ओली उपस्थित नभए पनि उनले पठाएको पत्र बैठकको सुरुमा सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर जानकारी गराउनुभएको थियो।
‘ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावमा औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यस कारण बैठकमा नआएको उल्लेख गर्नुभएको छ;, श्रेष्ठले भन्नुभयो।
पत्रवाचन गरिएलगत्तै दाहालले बैठक अघि बढाउँदै गम्भीर सङ्कटपूर्ण पार्टी जीवनको परिस्थितिमा पार्टी एकतालाई केन्द्रमा राखेर र अहिलेको सङ्कटलाई सकारात्मक ढङ्गबाट समाधान गर्ने गरी छलफल गम्भीर र व्यापक रूपमा अघि बढाउन अपिल गरेको पार्टी प्रवक्ताले जानकारी दिनुभएको छ।
‘ततपश्चात् आन्तरिक छलफलहरू, अनौपचारिक छलफलहरू र गृहकार्यको प्रक्रिया अघि बढाउन र स्थायी कमिटीका सदस्यहरूले बैठकमा वितरण गरिएका दुई अध्यक्षका प्रस्ताव र सम्बन्धित पत्रहरूको अध्ययन गर्नका लागि सात दिन समय दिइएको पनि उहाँले दावी गर्नुभयो ।
बैठकको एउटै मात्र कार्यसूची पार्टीको आन्तरिक समस्याबारे रहेको बताइएको छ।
यसअघि शनिवार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले स्थायी कमिटीको बैठक डाक्ने निर्णय गरेको थियो।
तर पार्टीका प्रथम अध्यक्ष ओली भने सत्तारूढ दलमा देखा परेको विवाद सचिवालयबाटै सल्टाइनुपर्ने मत राख्दै स्थायी कमिटीको बैठकको विपक्षमा उभिनुभएको थियो।
नेकपाको स्थायी कमिटीमा दाहाल र वरिष्ठ नेता माधव नेपालको पकड रहेको विवरणहरू सार्वजनिक भइरहेका छन्। नेकपाको स्थायी कमिटीमा ४५ सदस्यीय छ।
पार्टीमा तीव्र मतभेद चर्कँदै गएको अवस्थामा पार्टीका कार्यकारी अध्यक्ष दाहालले कार्तिक २८ गते गम्भीर स्वास्थ्य अवस्था र पार्टी पद्धतिलाई तिरस्कार गरी स्वेच्छाचारी शैलीले सरकार सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको कार्यशैलीले पार्टीको जीवन र सरकारको काममा ठूलो असर पारेको भन्दै दुवै पदबाट राजिनामा दिन माग गर्दै १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो ।
मंसिर ३ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको अभियोगपत्र फिर्ता लिनुपर्ने धारणा राख्दै त्यसमा लगाइएका आरोपहरु प्रमाणित भएका आफू पदत्याग गर्न तयार रहेको र नभएमा आरोप लगाउनेले बाटो छोड्नु पर्ने मन्तब्य दिनुभएका प्रधानमन्त्री ओलीले मंसिर १३ गते बसको बैठकमा आफूउपर १९ पानामा लगाइएको आरोपको ३८ पानामा जवाफ दिनुभएको थियो
शनिवार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफूले दुवै पदबाट राजिनामा नदिने मन्तव्य दिएपछि सचिवालयले दुवै प्रतिवेदनलाई स्थायी समितिमा पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप आज पार्टी कार्यालय धुम्बराहीमा भएको स्थायी समितिको बैठकमा दुवै अध्यक्षका प्रतिवेदनहरु वितरण भएको हो ।(स्रोत : बीबीसी नेपाली सेवा)