
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री के.पी. ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो।
संसदमा प्रतिनिधित्व रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।
सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणको रोकथाम र राजनीतिक विषयहरु उठाउने एजेण्डा तय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाउनुभएको थियो ।
शीर्ष नेताहरुले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउन आग्रह गर्नुभएको थियो ।
नेपाली काग्रेसले देशका समस्याहरु समाधानको स्थल संसद भएकोले शीघ्र संसदको हिउँदे बैठक बसाउने व्यबस्था गर्न पनि अनुरोध गरेको छ । कांग्रेसका पदाधिकारीहरुको मिटिड.ले पहिल्यै प्रधानमन्त्रीसंग यस्तो माग गर्ने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक(कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।