
काठमाडौं । एकीकरण पछि विभाजित भएका रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टी र मिलन पाण्डेको नेतृत्वमा रहेको विवेकशील दल पुनः एकीकरण भएको छ ।
बुधबार राजधानीमा एकीकृत पार्टीको घोषणापत्र जारी गर्दै दुवै दलका नेताहरुले आम नेपाली जनताको चाहना र दुवै दलका कार्यकता, मतदाता र शुभ चिन्तकहरुको भावना अनुरुप एकीकरणको प्रक्रियाको सुरुआत गरिएको र सो प्रक्रिया टुंगिएको बताउनुभयो ।
दुवै पार्टीको एकीकरण पछि बिहिबार सार्वजनिक गरिएको घोषणापत्र अनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन्। एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।
एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५ । ६५ जना सदस्यहरू रहने गरी कूल १ सय ३० जना केन्द्रीय सदस्य हुनेछन्।
दुवै पार्टीका बीचमा एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट १३ । १३ जना सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्ने सहमति पनि भएको छ।
विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण घोषणापत्रमा हस्ताक्षर भएको छ।
हामी दुवै दलका नेतृत्वले हिजोका गल्तीहरूका निम्ति माफी माग्दै, आम नागरिकहरूको जीवनमा परिवर्तन ल्याउने पार्टी बनाउने प्रतिबद्धता गर्यौँ।
सम्पूर्ण नागरिकहरू, शुभेच्छुकहरू, मतदाताहरू र सदस्य साथीहरूमा बधाई। pic.twitter.com/uoyL74umn9— Milan Pandey (@MilanPandey) December 9, 2020
पार्टीको एकता महाधिवेशन सम्पन्न नभएसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाउने भएको छ।
दुवै पार्टी बीचमा सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गर्ने सहमती समेत भएको छ ।
दुवै पार्टीका बीचमा पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने र दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरे अनुरूप एकीकृत पार्टीका अन्य सबै काम कारबाही हुने बताइएको छ
दुवै पार्टीका बीचमा एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्ने सहमती पनि भएको छ ।
एकीकृत पार्टीको घोषणा पत्रमा भनिएको छ, ‘नेपाली नागरिकका पुरा हुन बाँकी सबै सपनाहरूलाई पूरा गर्ने राजनीतिक अभियानको नेतृत्वदायी र रूपान्तरणकारी शक्ति बनाउन चाहन्छौँ। हामी परम्परागत राजनीतिबाट आजित नेपाली नागरिकलाई सुन्दर, लोकतान्त्रिक र अग्रगामी राजनीतिक विकल्प दिन चाहन्छौँ।’
दुवै पार्टीका नेताहरुले विगतमा भएको पार्टी विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमा याचना गर्ने हाम्रो विनम्र प्रयत्न त हो नै भन्दै पुन एकीकरणलाई नेपाली नागरिकले चाहेजस्तै एक अग्रगामी, सुसंस्कृत र उन्नत पार्टी निर्माण गर्ने सङ्कल्प हो भन्नुभएको छ ।
एकीकृत पार्टीको घोषणा पत्रमा भनिएको छ, यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो। यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ।
एकीकृत पार्टीका तर्फबाट जारी घोषणा पत्रमा हामी बहुलवादमा आधारित “कल्याणकारी लोकतन्त्र”, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहन्छौ भन्दै निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवासको व्यवस्था तथा सार्वजनिक यातायातलाई राज्यको प्रमुख दायित्व बनाउदै समाजको तल्लो तप्कामा रहेका बहुसङ्ख्यक किसान र मजदुरलाई श्रम गरेर स्वाभिमानपूर्वक बाँच्ने वातावरण तयार गर्न इमानदार, सक्षम र दूरदृष्टिपूर्ण नेतृत्व भएको खण्डमा सम्भव छ भन्ने विश्वास व्यक्त गरिएको छ ।
एकता नै बल हो…
यो 'बल'लाई अझ 'बलवान' बनाउन र विकृतिको चट्टान फुटाउन एकिकरणको श्रृंखला जारी रहने छ। एकिकरणका लागि प्रेरित गर्ने सबैलाई नमन! तपाईँ पनि यो यात्रामा सामेल हुन चाहनु हुन्छ भने कृपया यो लिन्कमा जानुहोला: https://t.co/U8OCjw1fM8 pic.twitter.com/WhBxpaxbYg— Rabindra Mishra (@RabindraMishra) December 9, 2020
सहभागितामूलक लोकतन्त्र र नागरिकलाई अझ धेरै अधिकार दिने परिणाममुखी राजनीति, मतदाताप्रति अझ धेरै उत्तरदायी हुन जनप्रतिनिधिहरू प्रबन्धन गर्ने तथा राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा सहअस्तित्व, सहकार्य र एकता सुनिश्चित गर्ने लोकतान्त्रिक बहुलवादप्रति प्रतिबद्ध रहने पार्टी बनाउने प्रतिज्ञा गर्दै एकीकृत विवेकशील पार्टीका नेताहरुले भन्नुभएको छ,’ हामी समावेशी लोकतन्त्र स्थापना गर्न चाहन्छौँ, जसले युवा, महिला, गरिब तथा सीमान्तकृत समुदायलाई अधिकार सम्पन्न गरी आर्थिक, सामाजिक न्याय सहितको समतामूलक संवृद्धि सुनिश्चित गर्न सकोस्। हामी राजनीतिलाई पेसा हैन, सेवामा रूपान्तरण गर्न चाहन्छौँ।’
एकीकृत पार्टीका नेताहरुले नेपाली नागरिकका लोकतान्त्रिक अधिकारहरूको सम्मान गर्दै, विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै, नेपाली नागरिकको भावनाको कदर गर्दै र संविधानको पूर्णतः पालना गर्दै पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूती, साहस जस्ता मूल्यमान्यतामा रहेर विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र कल्याणकारी राज्यको परिकल्पनालाई साकार बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हेर्नुहोस् , एकीकृत पार्टीको घोषणा-पत्र :
बखुण्डाेल, ललितपुर