
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी ८० बर्षको उमेर शुक्रबार निधन भएको छ ।
मस्तिष्कमा रक्तश्राव भई काठमाडौं मोडेल अस्पतालमा भर्ना हुनुभएका प्रजातन्त्र सेनानीको उपचारको क्रममा निधन भएको हो ।
२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरी जननिर्वाचित संसद समेत भंग गरेपछि लोकतन्त्रको स्थापनाको लागि नेपाली कांग्रेसका नेता तथा तात्कालीन सभापति सुवर्णसमशेर जबराको आह्वान र नेतृत्वमा २०१८ सालदेखि भएको सशस्त्र आन्दोलनमा राजधानीका २६ ठाँउमा टाइमबम विष्फोट गर्ने योजना गरेको काण्डमा पक्राउ पर्नुभएका श्रेष्ठमाथि राजामहेन्द्रको सरकारले राजकाजविरुद्धको अपराध, विध्वंसात्मक गतिविधिको अपराध,शान्ति सुरक्षा ऐन लगायतका मुद्दा लगाएर जिल्ला मजिष्ट्रेटले आजन्म कैद सजाँय तोकेको थियो ।
पछि वरिष्ठ अधिवक्ता गणेशराज शर्मा र कुसुम श्रेष्ठले बन्दी प्रत्यक्षीकरण अन्तरगत सर्वोच्च अदालतमा रीट निवेदन दिएपछि सर्वोच्च अदालतका तात्कालिन न्यायाधीश विश्वनाथ उपाध्यायको सद्भावपूर्ण फैसलाले झण्डै १७ बर्षपछि उहाँ कैदमुक्त हुनुभएको थियो ।
स्वर्गीय श्रेष्ठ पार्टीको एघारौं महाधिवेशन २०६२ मा गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उहाँ सदस्य हुनुहुन्थ्यो ।
स्वर्गीय श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं। ३ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सभापति हुनुहुन्थ्यो । स्वर्गीय श्रेष्ठ राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनु भएको थियो । वि।सं। २०७२ मा उहाँलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित गरिएको थियो ।
स्वर्गीय श्रेष्ठको एक छोरा र तीन छोरी हुनुहुन्छ ।
स्वर्गीय श्रेष्ठको असायमिक निधनमा एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसले भनेको छ, लोकतन्त्रका लागि आफूलाई उत्सर्ग गर्न पनि पछि नपर्ने अत्यन्त सरल र शालिन व्यक्तित्व श्यामलाल श्रेष्ठको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण। साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
स्वर्गीय श्रेष्ठप्रति सम्मान प्रकट गर्दै नेपाली कांग्रेसले तीन दिन(मंसिर २६, २७ र २८ गते) पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, मंसिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने,
स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
कांग्रेसले मंसिर २९ गतेका लागि पूर्व निर्धारित ७७ जिल्लामा हुने विरोध प्रदर्शनको आन्तरिक तयारीसँग सम्बन्धित कार्यहरु भने सूचारु रहनेछन् ।